Kathmandu Press

पार्टीको संगठनात्मक अवस्था नहेरी चुनावी तालमेल भए ठुलो असन्तुष्टि : महामन्त्री थापा

पार्टीको संगठनात्मक अवस्था नहेरी चुनावी तालमेल भए ठुलो असन्तुष्टि : महामन्त्री थापा

काठमाडाैं, भदाै ४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संगठनात्मक अवस्था नहेरी चुनावी तालमेल भए पार्टीभित्र ठुलो असन्तुष्टि हुन सक्ने बताएका छन्।

नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नंं. ८ 'ख'द्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेशसभा क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै थापाले अन्य दलको तुलनामा कांग्रेसको संगठनात्मक अवस्था र फरक मतदाता रहेको भन्दै यसलाई ख्याल नगरी चुनावी तालमेल भए पार्टीभित्र ठूलो असन्तुष्टि हुन सक्ने बताएका हुन्।

थापाले मतदाताको मनोविज्ञान गठबन्धन दलले नबुझे सोचेजस्तो परिणाम ल्याउन पनि गाह्रो रहेको धारणा पनि राखे। चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक भएपनि कांग्रेसले तालमेल नगरे अरुले तालमेल गर्नसक्ने देखिएको उनले बताए।

तालमेलबाट निर्वाचनमा जाँदा सिटको बाँडफाँटका साथै गठबन्धन दलबीच संविधान, आर्थिक सामाजिक, विदेश नीति लगाएतका विषयमा साझा धारणा बनाउन आवश्यक रहेको उहाको भनाइ छ। उनले अहिले पनि केही विषयमा गठबन्धन दलहरुबीच नै मतभेद रहेको भन्दै न्युनतम कुरा पनि मिल्न नसकेको अवस्थामा चुनाव जित्न मात्र तालमेल गर्न उचित नहुने धारणा राखे।

उनले मुलुकको परिवर्तनपछि बनेको सरकारप्रति जनताको निराशा कायमै रहेकाले आम जनजीविका साथै जनताका आधारभूत कुरा पुरा गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताए। 

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, भदौ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्