Kathmandu Press

१३ औं साग : विदेशी पाहुनालाई पोखराको कलाकृति उपहार

पोखरा, मंसिर १२ : १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा पोखरामा आउने विदेशी मुलुकका पाहुनालाई स्थानीय कलाकारले निर्माण गरेका आकर्षक चित्रकला उपहार दिएर....

१३ औं साग : विदेशी पाहुनालाई पोखराको कलाकृति उपहार
फाइल

पोखरा, मंसिर १२ : १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा पोखरामा आउने विदेशी मुलुकका पाहुनालाई स्थानीय कलाकारले निर्माण गरेका आकर्षक चित्रकला उपहार दिएर स्वागत गरिने भएको छ। 

सागमा सहभागी विभिन्न देशका खेलाडी, अफिसियल तथा पाहुनाको फरक–फरक भाषा तथा संस्कृति रहने र कलाकृति संसारका जुनसुकै व्यक्तिले बुझ्न सक्ने ‘अन्तर्राष्ट्रिय भाषा’ भएकाले त्यसका माध्यमबाट न्यानो आतिथ्यता प्रदान गर्ने आयोजकको तयारी छ। 

साग अतिथि स्वागत तथा सत्कार उपसमितिले ‘खेलकूदका लागि कला’ भन्ने नारा सन्देशसहित आज पोखरामा आयोजना गरेको ‘कला कार्यशाला’बाट कलाकारले सिर्जना गरेका चित्रकलालाई स्वागत सत्कारमा प्रयोग गर्ने भएको छ।

वरिष्ठ कलाकारले सिर्जना गर्ने सुन्दर चित्रकलाले पाहुनालाई स्वागत गरी उपहार प्रदान गर्दा छुट्टै सन्देश दिने र नेपालको प्रकृति, संस्कृति र खेलकूदलाई उजागार गर्दै आआफ्नो देशमा लैजाने उपसमितिका सहसंयोजक रामचन्द्र थापाले बताए।  

कार्यशालामा वरिष्ठ कलाकार यादवचन्द्र भुर्तेल, रमेश श्रेष्ठ, आलोक गुरुङ, थमनसिंह सनार, आकास गुरुङ, सुमन गुरुङ, गोपाल दराई, निशान थापामगर, देवेन्द्र गुरुङ, अलिता गुरुङ, ज्योति गुरुङ, किरण रञ्जीत, रिप गुरुङ, मनोज तामाङ, लक्ष्मण परियार, विश्व केसी, सुधीर श्रेष्ठ, युकेश सुनार, कमल गुरुङ र महादेव शाहीले कोर्ने २० भन्दा बढी चित्रकलाबाट पाहुनाको स्वागत गरी पोखराको प्रकृति, संस्कृति, जीवनशैलीलाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्य राखिएको छ। 

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाली खेलकूदमा कलाले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दै खेलसमेत नियमबद्ध कला भएको उल्लेख गरे।

चित्रकलाका माध्यबाट प्रदेशका प्राकृतिक गहना तथा सुन्दरतालाई विश्वस्तरमा पुर्‍याउन मद्दत पुग्ने भनाइ मन्त्री गुरुङको छ। सागअन्तर्गत पोखरामा खेलाइने विभिन्न आठ खेलका लागि खेलाडी तथा अफिसियल गरी ८४० सहभागिता रहनेछ। 

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, मंसिर १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्