प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक : चित्रबहादुर केसी
बागलुङ, भदाैं ३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक रहेको बताएका छन।पार्टी प्रशिक्षणको क्रममा गृह...
बागलुङ, भदाैं ३ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमन विरुद्धको लडाइँमा सफल हुन कांग्रेससँगको गठबन्धन आवश्यक रहेको बताएका छन।
पार्टी प्रशिक्षणको क्रममा गृह जिल्ला आएका केसीले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी ओली रहुन्जेल प्रतिगमन जारी रहने भन्दै बिमतिका बाबजुत कांग्रेससहितको ५ दलीय गठबन्धन चाहिएको बताए।
केसीले भने, ‘पञ्चायत फाल्न कांग्रेसकै साथ चाहियो, गणतन्त्र ल्याउन कांग्रेस नै चाहियो, त्यसैले गणतन्त्र र धर्म निरपेक्षता जोगाउन पनि गठबन्धन बनाउनु परेको हो, धर्म निरपेक्षता र गणतन्त्रको मामिलामा वामपन्थी भए पनि एमालेभन्दा कांग्रेस इमानदार देखियो।’
साथै उनले हिन्दु सम्राट बनाउने र संसद विघटन गरेर प्रतिगमन ल्याउने ओलीको पक्षमा अाफु लाग्न नसकेको बताए।
यसैबीच आगामी निर्वाचनमा राजमोले आफ्नो संगठन भएको स्थानमा मात्रै गठबन्धन गर्ने र उमेदवार दिने उनले बताए। ‘संगठन नभएको स्थानमा पनि चाहिएन, नागरिकताको एजेण्डामा लिप्त पनि बन्दैनौं,’ केसीले भने, ‘बरु एक्लै लड्न पनि राजमो तयार छ।’











