बालिका अपहरणको आरोपमा प्रहरीसहित दुई पक्राउ
बागलुङ, भदौ ३ : बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ। धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै...
बागलुङ, भदौ ३ : बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो।
बागलुङ नगरपालिका वडा नं २ हल्लनचोकमा रहेकी सुहानालाई जबर्जस्ती गाडीमा राखेर प्रहरी जवान आचार्य र ती महिलाले बुद्ध विहारतिर लगेका थिए। स्थानीय र प्रहरीले उनीहरूलाई रोकेका थिए । प्रहरी नियन्त्रणमा रहेका आचार्य र केसीले बालिका भएको स्थानमा पुगेका स्थानीयलाई तथानाम गाली गरेको प्रत्यक्षदर्शी रुद्र महतले बताए।
बालिकाकी आमा सपना थापाले प्रहरीबाटै नागरिक सुरक्षित नभएको बताइन् । उनलेआफू कार्यालयमै रहेको र श्रीमान् तरकारी लिन गएको समयमा प्रहरी र महिला मिलेर आफ्नो छोरी अपहरण गर्न खोजेको बताइन्।
प्रहरीले ती दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि स्थानीयको ठूलो सङ्ख्या राति प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनीहरूले दुवै जनालाई कडा कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले अपरहण हो या होइन भन्ने विषयमा अनुसन्धान सुरु भएको र मदिरा सेवन गरेका प्रहरी जवानलाई समेत कारबाही गर्ने बताए।











