Kathmandu Press

सहमति जुटाउन माओवादी केन्द्रमा २१ जनाको जम्बो पदाधिकारी 

काठमाडौं, भदौ ३ : नेकपा माओवादी केन्द्रले पार्टीको नेतृत्व तहमा विवाद हुन नदिन २१ जनाको पदाधिकारी बनाउने भएको छ। बाँकी रहेको संगठनात्मक संरचनालाई पूर्णता...
सहमति जुटाउन माओवादी केन्द्रमा २१ जनाको जम्बो पदाधिकारी 

काठमाडौं, भदौ ३ : नेकपा माओवादी केन्द्रले पार्टीको नेतृत्व तहमा विवाद हुन नदिन २१ जनाको पदाधिकारी बनाउने भएको छ। बाँकी रहेको संगठनात्मक संरचनालाई पूर्णता दिन बुधबारदेखि पार्टीको स्थायी कमिटी बैठक बसेको भएपनि पदाधिकारीमा सहमति हुन नसक्दा बैठक स्थगित हुँदै आइरहेको छ । 

बिहीबार स्थगित हुँदै शुक्रबार बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट पदाधिकारीको संख्या २१ बनाउने निर्णय गरेको हो । पदाधिकारीमा सबैजसो शीर्ष नेताहरुले दाबी गरेपछि मिलाएर लैजानका लागि अध्यक्ष प्रचण्डले पदको संख्या थप गर्ने प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा सबैजसो स्थायी कमिटी सदस्यहरुले समर्थन जनाएका छन्। 

एक स्थायी कमिटी सदस्यका अनुसार पदाधिकारीमा उपमहासचिव र सचिवको संख्या थप गर्न लागिएको हो । महासविचमा दाबी गर्नेहरुमध्ये एकलाई सर्वसम्मत चयन गर्दै बाँकीलाई उपमहासचिव बनाउने प्रचण्डको तयारी छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेल लगायतका नेताहरुले दाबी गर्दै आएका थिए । तीमध्य वर्षमान र जनार्दनको दाबी बलियो मानिएको थियो । 

वर्षमान र जनार्दनमध्येका एक जनालाई महासचिव बनाउँदा नेतृत्व तहमा तिक्तता पैदा हुने भएकाले प्रचण्डले बीचको विकल्प लिएका छन् । उनले देव गुरुङलाई महासचिव प्रस्ताव गर्दै अन्यलाई उपमहासचिव बनाउने तयारी गरेका छन् ।  यसो हुँदा ७ जना उपमहासचिव हुने व्यवस्था गरिएको छ । 

यसअघि उपाध्यक्षको संख्या थप गर्नेगरी छलफल भएकोमा शुक्रबारको बैठकले एकजना मात्रै उपाध्यक्ष राख्ने टुंगो लगाएको छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा फाइनल हुन्। सचिवको संख्या पनि ७ बाट बढाएर ९ पुर्याइएको छ। सचिवमा भने धेरै विवाद छैन ।

यस हिसाबमा माओवादी केन्द्रले भोलिको बैठकमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, ७ उपमहासचिव, ९ सचिव र १ कोषाध्यक्षको टुंगो लगाउने एक नेताले बताए । 
 

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, भदौ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्