प्रतिनिधिसभाबाट बहुमतले नागरिकता विधेयक पारित
प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ दोश्रोपटक पारित गरेको हो । मत विभाजन प्रक्रियाबाट पारित गरिएको विधेयको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको थियो ।
काठमाडौं, भदौं २ : राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ दोश्रोपटक पारित गरेको हो ।
मत विभाजन प्रक्रियाबाट पारित गरिएको विधेयको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको थियो । आजको बैठकमा सहभागी सहभागीको १९५ सांसदहरु मत विभाजन प्रक्रियामा सामेल भएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका थिए । विधेयक पारित हुनुअघि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आ–आफ्ना धारणा राखेको थिए। त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रस्तावलाई पारित गर्न अनुरोध गरेको थिए।
पक्षविपक्षमा विचार प्रसतुत गर्ने सबै सांसदलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले नागरिकता विधेयकलाई रोक्न नसकिने भन्दै त्यसलाई अगाडि बढाउन सभामुखलाई आग्रह गरेका थिए ।
सभामुखले त्यसलाई मत विभाजनतर्फ निर्णयार्थ प्रस्तुत गर्न लाग्दा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलसँग छलफलै नगरी बहुमतका बलमा राष्ट्रपतिको सन्देशको बेवास्ता गरेर विधेयक पारित गर्न लागेको भन्दै आपत्ति जनाएका थिए ।
विधेयक राष्ट्रिय सभाबाट साउन १२ गते पारित भएको थियो । राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै साउन २९ गते संसद्मा फिर्ता पठाएकी थिइन् ।











