Kathmandu Press

सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल

काठमाडौं, भदौ २ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा...
सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल
फाइल तस्बिर

काठमाडौं, भदौ २ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उहाँहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए  ।

नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भएको खण्डमा सत्ता सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ । अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस् त्यसो भएमा हामी गठबन्धनमा सहकार्य गरेर जान्छौँ । प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको थियो त्यसबारे चाँडो टुङ्ग्याइदिन हामीले भन्यौँ।’

नेता महतोले सत्ता साझेदारिता, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको बताए। ‘प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्यौँ । विशेषगरी नागरिकताका विषयमा कुराकानी ग¥यौँ । विधेयकलाई प्रक्रिया पु¥याएर आजै संसद्बाट टुङ्गो लगाउने भन्नुभएको छ,’ उनले भने। 

नेता महतोले प्रधानमन्त्रीको प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको भन्दै उक्त प्रयोजनका निम्ति गठबन्धनले निर्णय गरेको खण्डामा सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे। प्रधानमन्त्रीसँगको छलफलमा लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत नेताहरु सहभागी भएका थिए। 

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्