संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा
काठमाडाैं, भदाै २ : संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन...
काठमाडाैं, भदाै २ : संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती ऐन तत्काल ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले प्रथम चरणको आन्दोलनले गरेको माग सुनुवाइ नभएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जानकारी दिइएको हो।
दोस्रो चरणका आन्दोलनका माग सुनुवाई नभएमा आन्दोलनलाई थप शसक्त रुपमा अगाडि बढाउन बाध्य हुने पनि सञ्जालले चेतावनी दिएको छ।
र, त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेसमेत उसको भनाइ छ। सञ्जालले पहिलो चरणको कार्यक्रम २०७९ भाद्र २ गते सम्पन्न गरेको थियो। आगामी भदाै ५ देखि १७ गतेसम्म अर्को चरणको विरोधका कार्यक्रम सन्जालले सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहनकुमार घिमिरेले विगत ५ वर्षदेखि संघीय निजामति सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशिल रहेको बताए।
उनले आफूहरुले आम राष्ट्रसेवक कर्मचारीहरुले अघि सारेका मुद्दाहरुसहित संघीय निजामति सेवा ऐन जारी गर्न दबाब सिर्जना गराउन खोजेको स्पष्ट पारे। त्यस्तै नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले सरकारले संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने धारणा राखे।
आन्दोलनको पहिलो दिन भदौ ५ गते बिहान ९ बजेदेखि साढे १० बजेसम्म सिंहदरबारमा पर्चा वितरण गर्ने, भदाै ६ गतेदेखि १७ गतेसम्म सबै कार्यालयहरुमा कालो ब्यानर राख्ने र कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी कामकाज गर्ने, ९ गते प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको सञ्जालले जनाएको छ।











