Kathmandu Press

एमालेलाई वर्षमानको आग्रह : नागरिकतालाई राजनीतिक विषय नबनाऔं

सांसद पुनले अहिलेको आवश्यकता अनुसार नै नागरिकता विधेयक ल्याइएको कारण यस विषयलाई राजनीतिकरण नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका हुन्। 
एमालेलाई वर्षमानको आग्रह : नागरिकतालाई राजनीतिक विषय नबनाऔं

काठमाडौं, भदौ २ : नेकपा माअ‍ोवादी केन्द्रका सांसद वर्षमान पुनले नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन् । 

राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकबारे संसदमा सुरु भएको छलफलमा बोल्ने क्रममा सांसद पुनले अहिलेको आवश्यकता अनुसार नै नागरिकता विधेयक ल्याइएको कारण यस विषयलाई राजनीतिकरण नगर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका हुन्। 

उनले कार्यकारीको काममा प्रश्न उठाउने अवस्था आउन नदिने गरी संसदबाट पुनः नागरिकता विधेयक पारित गर्नुपर्ने बताए । सांसद पुनले राष्ट्रपतिबाट प्राप्त सन्देशमा कुनैपनि ठाउँमा संविधासँग बाझिएको उल्लेख नभएको बताउँदै संविधानसँग बाझिने अवस्थामा पुनर्विचार गर्न संवैधानिक व्यवस्था  गरिएको बताए । 

‘संविधान निर्माणका क्रममा कहिलेकाहीँ कैयौं कुरा ध्यान नपुगेको हुनसक्छ । त्यसैले राष्ट्रप्रमुखबाट ध्यानाकर्षण र पुनर्विचार गराउने ठाउँ राखिएको हो,’ उनले भने, ‘तर दिनदिनैको सरकारको कामकारवाहीमा कुनैपनि ढंगले प्रश्न उठाइराख्ने व्यवस्था गरिएको होइन।’ 

जन्मका आधारमा नागरिकता पाइसकेकाका छोराछोरीले नागरिकता नपाउँदा दैनिक जीवनमा अप्ठ्यारो भोगिरहेका कारण त्यसलाई फुकाउन विधेयक ल्याइएको सांसद पुनले बताए । उनले सरकारबाट वैवाहिक अंगिकृत लगायतका विषयहरुमा छलफल गर्ने प्रतिवद्धता प्राप्त भएकाले विधेयक पास गर्दै आगामी दिनमा परिमार्जन गर्ने विषयलाई पनि संगसंगै अघि बढाउनुपर्ने बताए । 
 

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्