Kathmandu Press

‘विवाह गरेर आएको सात वर्ष नभई अंगीकृत नागरिकता दिनुहुँदैन’

काठमाडाैं, भदाै २ : पाँचदलीय सत्तारूढ गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चाले सदनमा छलफलका लागि आएको नागरिकता विधेयक खारेज गर्नुपर्ने र विवाह गरेर आएको...
‘विवाह गरेर आएको सात वर्ष नभई अंगीकृत नागरिकता दिनुहुँदैन’

काठमाडाैं, भदाै २ : पाँचदलीय सत्तारूढ गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चाले सदनमा छलफलका लागि आएको नागरिकता विधेयक खारेज गर्नुपर्ने र विवाह गरेर आएको ७ वर्ष नभई अंगीकृत नागरिकता दिन नहुने बताएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरिएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नागरिकता राष्ट्रिय अखण्डता, राष्ट्रियतासँग जोडिएको विषय भएकाले गम्भीर हुनु जरुरी रहेको र अंगीकृत नागरिकताका लागि ७ वर्ष तोकेर जानुपर्नेमा उनले जोड दिइन्।

नागरिकता दिने क्रममा वास्तविक नेपाली नागरिक छुटिरहेको भए कानुन सुधार्न सकिने उनको भनाइ थियो । तर जन्म र विवाहकै आधारमा तुरुन्त नागरिकता दिन नमिल्ने भन्दै उनले अहिलेको नागरिकता विधेयक खारेज गरेर जानुपर्नेमा जोड दिइन्। 

राष्ट्रपतिबाट सुझावसहित संशोधनका लागि विधेयक फिर्ता गरिनु स्वागतयोग्य कदम भएको उल्लेख गर्दै उनले नागरिकता प्राप्त गर्ने राजनीतिक, सामाजिक, भौगोलिक आधारसँगै विविध विधि अपाउने गरिए पनि विवाह गर्नेबित्तिकै नागरिकता प्राप्त गर्न योग्य भइसकेको भन्ने कुरा दुनियाँमा कहीँ पनि नभएको स्पष्ट पारिन्।
 
संविधान घोषणा गर्ने बेलामै आफ्नो पार्टीले स्पष्ट रूपमा यस्तै धारणा राखेको उनले बताइन्। ‘सबैले नागरिकता पाउनैपर्छ, कमजोरी भए सुधारौं, विस्तृत रुपमा छलफल गरौं,’ उनले भनिन्, ‘तर विवाह गरेकै आधारमा नागरिकताका लागि योग्य भयो भनेर खुला छाडिदियौं भने हामी फिजी हुने खतरा बढेर जानेछ। त्यसकारण यस किसिमको कदमलाई रोक्नु जरुरी छ।’

‘जन्मका आधारमा नागरिकता प्रदान गर्ने वास्तविक सैद्धान्तिक आधार के हो? कुन विधिशास्त्रीय आधारमा हामी नागरिकता वितरण गर्दैछौं?’ उनले प्रश्न गरिन्। अंगीकृत नागरिकता दिन जुनसुकै देशमा पनि निश्चित समय राखिएको हुने भन्दै उनले नेपालको कानुनमा वंशजका आधारमा र अंगीकृत नागरिकता दिने विधिप्रक्रिया रहेको चर्चा गरिन्।

नागरिकताका सन्दर्भमा हाम्रो देशको चेली विवाह गरेर लाने देशहरुले कस्तो व्यवहार गरेका छन्, सोहीबमोजिम नेपालीले पनि व्यवहार गर्नुपर्ने सुझाव उनले दिइन्। वैवाहिक अंगीकृत नागरिकताका लागि सात वर्ष तोकेर जानुपर्नेमा उनले जोड दिइन्।          

प्रकाशित मिति: १३:२९ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्