Kathmandu Press

टाउकाको गणनाका आधारमा नागिरकता विधेयक पारित गरिए परिणाम राम्रो हुँदैन : ज्ञवाली

एमाले सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयलाई सबैकाे छलफलबाट सर्वस्वीकार्य दस्तावेज बनाउनुपर्नेमा जोड दिए।
टाउकाको गणनाका आधारमा नागिरकता विधेयक पारित गरिए परिणाम राम्रो हुँदैन : ज्ञवाली

काठमाडाैं, भदाै २ : नेकपा एमालेले नागरिकता विधेयकलाई टाउकाको गणना गरेर नभई विवेकका आधारमा पारित गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फlर्ता गरिएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै एमाले सांसद प्रदीप ज्ञवालीले त्यस्ताे संवेदनशील विधेयकलाई सबैकाे छलफलबाट सर्वस्वीकार्य दस्तावेज बनाउनुपर्नेमा जोड दिए।

उनले विवेक गुमाएर टाउकाको गणनाका आधारमा नागिरकता विधेयक पारित गरिए परिणाम राम्रो नहुने चेतावनी पनि दिए। ‘प्रमुख प्रतिपक्ष रचनात्मक ढंगले सहयोग गर्न तयार छ तर जबरजस्ती गरेर टाउकाको गणनाको आधारमा गर्नुभयो भने परिणाम राम्रो हुँदैन,’ उनले भने, ‘टाउकाको गणनाका आधारमा २०३५ सालमा वीरेन्द्रले पनि पञ्चायतले जितेको घोषणा गरेका थिए, त्यो टिक्यो? टाउकाको होइन विवेकको गणना होस्। सर्वस्वीकार्य दस्ताबेज बनाइयोस् भनेर हामीलाई दिइएको अवसरलाई त्यही गम्भीरताका साथ लिनुपर्छ। यो प्रश्न हेड काउन्टले टुंग्याउने विषय होइन।’
 
उनले सत्तारुढ दल राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधियक जस्ताको तस्तै पारित गर्ने तयारीमा रहेको भनी आएका समाचारप्रति आपत्ति जनाए।
 
प्रतिनिधिसभा नियमावलीको दफा १३६ को उपदफा ३ ले सन्देशसहित फिर्ता पठाइएको विधेयकको सबै प्रक्रिया अरु विधेयकसरह हुने भनिएको स्मरण गराउँदै उनले सोही नियमावलीको दफा १०७ र १११ लाई ध्यानमा राखेर प्रत्येक सांसदको संशोधन राख्न पाउने अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए।

ती दफामा सन्देशसहित फिर्ता पठाइएको विधेयक सबै प्रक्रिया अरु विधेयकसरह हुने भनिएको बताए। ‘त्यसकारण प्रत्येक माननीयको संसोधन राख्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्छ,’ उनले भने।  

नागरिकताजस्तो गम्भीर विषयमा जनताको प्रतिक्रिया लिने विषयलाई समेत अगाडि बढाउनुपर्ने भन्दै उनले सदनको ध्यानाकर्षण गराए।

‘राष्ट्रपतिले दिएको सन्देशलाई सदनले गम्भीरतापूर्वक लिओस्। सदनको विचाराधीन विषयलाई बन्द कोठामा दलका नेताहरुले बसेर प्रतिनिधिसभाको संसदको अधिकारलाई संकुचन गर्न मिल्छ कि मिल्दैन? संसदको गरिमा कायम हुन्छ कि हुँदैन?’ उनले प्रश्न गरे। 

लैंगिक समानता, आमाको प्रजनन अधिकार, आमाको गोपनीयताप्रति ध्यानाकर्षण गराउँदै बाबुबारे स्वघोषणा गर्नेपर्ने बाध्यात्मक अवस्थाले आमाको आत्मसम्मानमा चोट पुग्छ कि पुग्दैन भन्ने प्रश्न राष्ट्रिपतिले उठाएको उनले बताए। ‘दलीय विभाजनमा बढी आबद्ध भएका कारण यतिसम्मको संवेदनशील विषयमा पनि ध्यान दिन नखोजिएको देखियो,’ उनले भने। 

नागरिकता विधेयक कुनै व्यक्ति, समुदाय र क्षेत्रको सरकारको विषय नभएर सिंगो देशको साझा सवाल भएको बताए। ‘यो केबल मधेश र समूदाय विशेषका कुरा होइन। यो सिंगो देशको साझा सवाल हो।

वैवाहिक अंगीकृतलाई समूदायको मात्रै समस्या बनाउने र राजनीतिकरण गर्ने र त्यसका आधारमा कुनै दल त्यस समूदायको हिमायती र कुनै दललाई विरोधी भन्ने बनाएर राष्ट्रिय एकतालाई खलल पुर्याउने प्रयत्न भयो। देशलाई विभाजित र जनमतलाई विभाजित गर्ने काम किमार्थ उचित हुँदैन।’ 
 

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, भदौ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्