राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी
काठमाडौं, भदौ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पारित गर्ने तयारी गरिएको छ।प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे...
काठमाडौं, भदौ २ : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पारित गर्ने तयारी गरिएको छ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने पनि रहेको छ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले नागरिकता विधेयक आजको बैठकमा पारित गर्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको जनाएका छन्। उनले जारी गरेको सम्भावित कार्यसूचीको तेस्रो नम्बरमा नागरिकता विधेयक सम्बन्धी विषय उल्लेख छ।
सूचनामा भनिएको छ, 'सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने।'
त्यस्तै, अर्को बुँदामा 'सम्माननीय राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने' उल्लेख छ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गरेर पुनः पठाउने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गरेको थियो। त्यहिअनुसार, आज प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरिएको हो।












