नागरिकता विधेयक हुबहु फिर्ताकाे निर्णय गरेर गठबन्धनले घमण्ड देखायाे : ओली
काठमाडाैं, भदाै १ : एमाले अध्यक्ष केपी ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताएका छन्।बुधबार काठमाडौंमा आयोजित...
काठमाडाैं, भदाै १ : एमाले अध्यक्ष केपी ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले राष्ट्रपतिले नागरिकता विधेयक संसदले एकपटक विचार गरोस भनेर फिर्ता पठाएको भन्दै गठबन्धनले पाखुराको भाषा बोलेर जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरको र घमण्डीपन देखाएको बताए।
यस्तो भाषा बोल्ने गठबन्धनको सरकार हुनु दुर्भाग्य भएको उनले बताए। उनले संसदीय मूल्य मान्यतालाई नमान्नेलाई जनताले सरकारमा राख्न नहुने धारणा राखे। ओलीले गठबन्धनका सबै दलका नेताहरुको उद्देश्य जहान-परिवारको वरिपरि मात्रै घुमेको र गठबन्धनको कुनै लक्ष्य र औचित्य नै नभएको बताए।
अहिले आफूलाई लोकतान्त्रिक पार्टीको दाबी गर्ने कांग्रेसको विचार शून्य रहेको र अरु दललाई साथमा नलिई अघि बढन् नसक्ने अवस्थामा पुगेको तर्क गरे।
ओलीले माओवादीले पार्टीको स्वरुप लिन नसकेको टिप्पणी गर्दै प्रचण्ड एण्ड कम्पनी मात्र भएको आरोप लगाउनुभयो। ओलीले देशमा स्थीरता ल्याउन एमालेको जीत अपरिहार्य भएको बताए।
कार्यक्रममा अध्यक्ष ओलीले जसपाका उपाध्यक्ष हेमराज राई लगाएतका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउनुभएको थियो। ओलीले पार्टीमा आएका नेताहरुलाई अलपत्र नपार्ने र आवश्यक जिम्मेवारी दिने जानकारी दिए।











