कार्यदलको बैठक आज, सीट बाँडफाँड प्रस्ताव पेश गर्ने तयारी
काठमाडौं, भदौ १ : आउँदो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सीट बाँडफाँडको प्रस्ताव गर्न बनाएको गठबन्धन कार्यदलको बैठक आज बस्दै छ।प्रधानमन्त्री निवास...
काठमाडौं, भदौ १ : आउँदो प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सीट बाँडफाँडको प्रस्ताव गर्न बनाएको गठबन्धन कार्यदलको बैठक आज बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे गठबन्धन कार्यदलको बैठक बस्ने कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। यसअघि सोमबार बसेको बैठकले सीट बाँडफाँडको विषयमा छलफल गरेको थियो।
सीट बाँडफाँडको खाका प्रस्ताव तयार गर्ने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिइएको छ। संयोजक सिटौलाले आजको बैठकमा सीट बाँडफाँडको खाका पेश गर्ने तयारी गरेको जनाइएको छ।
त्यसपछि आजको बैठकमा सीट बाँडफाँडको खाकामाथि छलफल हुने जनाइएको छ। यसका लागि २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा जितेका स्थान, समानुपातिक मत र स्थानीय चुनावमा प्राप्त मतलाई आधार बनाएर सिटौलाले खाका पेश गर्ने एक सदस्यले बताए।
आगामी चुनावमा तालमेल गर्न सीट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताको बैठकले गत साउन २३ गते कार्यदल गठन गरेको थियो। कार्यदलमा कांग्रेसबाट तीन, अन्य चार दलबाट दुई दुई सदस्य छन्। कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।











