Kathmandu Press

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

देश हामीले आफैँ बनाउने हो : अध्यक्ष ओली

काठमाडाैं, साउन ३१ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश आफैँले बनाउनुपर्ने बताएका छन।

अखिल नेपाल महिला सङ्घ युवा सञ्जालले आज यहाँ आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा उनले कुनै पनि देश अर्काले नबनाइदिने र आफैँले बनाउनुपर्ने बताए। 'कुनै पनि देश अर्कैले बनाइदिएको छैन। आफैँले बनाएर बनेको छ,' उनले भने, 'हामी पनि हाम्रो देश बनाउन आफैँ लाग्नुपर्छ । हामीले अनावश्यक गफ दिएर हुँदैन।'

उनले चीनजस्तो ठूलो देश पनि तीन चार दशक अगाडि गरिब रहेको र आफ्नै मिहिनेतले अहिले समृद्ध बनेको बताए। 'चीन तीन/चार दशक अगाडि गरिब थियो। तीन/चार दशकमा ठूलो जनसङ्ख्यालाई कसरी खुवाउन सक्छ भन्ने थियो,' उनले भने, 'आफ्नै खुट्टामा उभिएर चीन बनेको हो। चीनजस्तो ठूलो देश बनाउन सकिन्छ भने हाम्रोजस्तो सानो देशलाई चिटिक्क र समृद्ध बनाउन हामी पनि सक्छौँ।'

पूर्वप्रधानमन्त्री ओलीले महिला आन्दोलन, महिला सशक्तीकरण, महिला जागरणलाई गलत बाटोतिर जान दिनु नहुने भनाइ राखे। समाजलाई सभ्य सुसंस्कृतिको बाटोमा लैजान महिला आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो।  

अध्यक्ष ओलीले नेपाली महिलाहरू इतिहासमा अग्रगामी स्थानमा भए पनि तीन/चार सय वर्षयता महिलालाई पछि पार्न थालिएको बताए। उनले राजनीतिमा महिलाको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।

प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, साउन ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्