गुणस्तरीय शिक्षामा जोड दिन राष्ट्रपति भण्डारीको आग्रह
कास्की, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छन्। पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन...
कास्की, साउन ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छन्। पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरकजयन्ती समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताइन्।
राष्ट्रपति भण्डारीले भनिन्, ंसीपमूलक, वैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षामा नगारिकको समतामूलक एवं न्यायोचित पहुँच स्थापना गर्नुपर्दछ।’
राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक स्रोत साधनको परिचालन गर्ने, तिनको व्यवस्थापकीय क्षमताको विकास गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्। गण्डकी प्रदेश अनुपम प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् उन्नत सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै राष्ट्रपति भण्डारीले यस क्षेत्रको प्राकृतिक स्रोत तथा सम्पदामा आधारित उद्यमशीलता प्रवर्धनका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधि उन्मुख हुनुपर्नेमा जोड दिइन्।
सामुदायिक शिक्षाका क्षेत्रमा राज्यले गरिरहेको लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेका अवस्थामा विन्ध्यवासिनी माध्यमिक विद्यालयले आफूलाई मुलुकभरकै उत्कृष्ट पाँच विद्यालयमा स्थापित गर्न सकेको भन्दै उनले खुसी व्यक्त गरिन्। विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेकोमा पनि खुशी व्यक्त गरिन्।
पूर्खाको त्याग र बलिदानबाट राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई बढाउनुपर्ने बताइन्। विद्यालयले प्रदान गर्ने शिक्षाबाट समाज, राष्ट्र र राष्ट्रियताप्रतिको दायित्वबोध हुने अपेक्षा व्यक्त गरिन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवीनतम प्रविधिको उपयोग गर्दै सक्षम जनशक्ति तयारीमा जोड दिनुपर्ने आवश्यकता औंल्याइन् । मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन भई तीन तहको सरकार क्रियाशील भइरहेको वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा पनि समयसापेक्ष परिवर्तन गर्नु जरुरी रहेको उनले बताइन् । शिक्षालाई समयसापेक्ष बनाउन नसक्दासम्म हामीले आफ्ना सपना पूरा गर्न नसकिने उनको भनाइ छ।











