सत्ता गठबन्धनको कार्यदलले तालमेलको टुंगो लगाएर शीर्ष नेतालाई बुझाउने
बालुवाटारमा सोमबार बसेको कार्यदल बैठकमा चूनावी तालमेलका बारेमा बिभिन्न कोणबाट छलफल भएको र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शिर्ष तहमा प्रतिवेदन बुझाउने तयारी भएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
काठमाडौं, साउन ३० : आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलले तालमेलको सबै काम टुंगो लगाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने जनाएको छ ।
बालुवाटारमा सोमबार बसेको कार्यदल बैठकमा चूनावी तालमेलका बारेमा बिभिन्न कोणबाट छलफल भएको र सकेसम्म कार्यदलले नै सबै काम टुंगो लगाएर शिर्ष तहमा प्रतिवेदन बुझाउने तयारी भएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
उनले बुधबार बस्ने कार्यदल बैठकले तालमेलको खाकाको टुङ्गो लगाउने संकेत गरे । तालमेका लागि २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातीक मत र अहिलको स्थानीय तह निर्वाचनलाई आधार बनाएर छलफल भइरहेको उहाले बताए । उनले यसअघिको संघीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी सहभागी नभएकाले विशिष्ट रुपमा मापदण्ड बनाएर तालमेलको खाका तयार गरिने जानकारी दिए । कार्कीले कसैको बिरुद्ध गठबन्धन नभएको भन्दै गठबन्धनमा आउन चाहनेसंग सकारात्मक रुपमा छलफल गरिने बताए ।
पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन् । कार्यदललाई सिट बाँडफाँटको खाका तयार गरि प्रतिवेदन बुझाउन भनिएको छ ।