नागरिकता विधेयक फिर्ता हुनु स्वागतयोग्य : पाेखरेल
काठमाडाैं, साउन ३० : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन्।अनेरास्ववियु...
काठमाडाैं, साउन ३० : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिकता विधेयक फिर्ता पठाएर राष्ट्रपतिले मुलुकको हितका लागि स्वागतयोग्य काम गरेको बताएका छन्।
अनेरास्ववियु केन्द्रीय कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको गोष्ठिमा पोखरेलले संघीय संसदले पारित गरेको बिधेयक मुलुकको हितमा नरहेकै कारण राष्ट्रपतिबाट फिर्ता भएको बताएका हुन्।
उनले केवल चूनावी स्वार्थका लागि बिदेशीहरुसंगको साँठगाँठमा गठबन्धन सरकारले हतार हतार नागरिकतासम्बन्धी नयाँ बिधेयक ल्याएको आरोप लगाए।
यसअघि एमाले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश र अहिले सरकारले ल्याएको बिधेयक एउटै भन्नु सरासर गलत भएको उनले बताए।
संसदीय समितिको प्रतिवेदनलाई लत्याएर सरकारले ल्याएको नागरिकता बिधेयक देशको राष्ट्रिय स्वाधिनताको विपरीत रहेकाले मान्य नहुने पोखरेलले बताए। अब नागरिकता सम्बन्धी कानुन निर्माणका लागि नयाँ ढंगले सुरु गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक अस्थिरताको प्रमुख कारक बनेको जिकिर गरे। उनले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका पक्षमा गठबन्धन घुँडा टेकेर एमालेको बिरोध हुन्छ भने जस्ता सुकै कुरा गर्न पनि तत्पर भएको शक्ति भएको बताए।
उनले संगठनलाई बलियो बनाउदै पार्टीलाई समेत मजबुद बनाउने गरि काम गर्न अनेरास्ववियुलाई सुझाव दिए।











