कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुट्न देउवाकाे निर्देशन
‘स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ,' उनले भने, 'अब भने हाम्रो ध्यान कांग्रेसलाई ठुलो पार्टी बनाउनेतिर हुनुपर्छ।’
काठमाडौं, साउन ३० : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी लाग्न नेताकार्यकर्तालाई निर्देशन दिएका छन्।
कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आज (सोमबार) ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले अब कांग्रेसको ध्यान आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनेतिर हुनुपर्नेमा जोड दिए।
‘स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ,' नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उनले भने, 'अब भने हाम्रो ध्यान कांग्रेसलाई ठुलो पार्टी बनाउनेतिर हुनुपर्छ।’
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन भएका कारण कांग्रेस पराजित भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले यसपटक कांग्रेससहितको गठबन्धन कायम रहेकाले स्थानीय तहमाजस्तै राम्रो नतिजा आउने विश्वास उनले व्यक्त गरे।
‘२०७४ सालमा एक्लै चुनाव लड्नुपर्ने अवस्था थियो। गठबन्धनले गर्दा हामी पराजित भयौं। यसपटक गठबन्धनका कारण हामी सरकारमा छौं,' प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन गठबन्धनकै कारण राम्रो भयो।’ उनले गठबन्धन भएपछि सजिलै निर्वाचन जितिन्छ भन्ने भ्रमबाट मुक्त हुन नेताकार्यकर्तालाई आग्रह गरे।
देउवाले जनताभन्दा ठुलो अरु कोही नहुने नभएकाले सबैले जनभावनाअनुरूप काम गर्नुपर्नेमा जोड दिए। उनले संघीयतापछि सिंहदरबार गाउँगाउँमा पुराउने भनिए पनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए।
'जनताभन्दा ठुलो कोही छैन। जनता यो देशको मालिक हो। त्यसैले सर्वभौमसत्तासम्पन्न जनता भनेको हो। त्यसैले पार्टीका साथीहरुले जनताको दिल जित्नु आवश्यक छ,’ देउवाले भने, ‘यस्तो अवस्थामा मात्र जनताले कांग्रेसलाई साथ दिनेछन्। आउँदा दिनमा जनताको दिल जित्नु छ। साथीहरु सबै यस कार्यमा लाग्न आग्रह गर्दछु।’
जनताले गाउँमै सिंहदरबार ल्याएको महसुस हुने गरी काम गर्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिए।
उनले टिकट बाँडफाँटमा कसैलाई काखा वा पाखा नगर्नेसमेत विश्वाससमेत व्यक्त गरे। ‘पार्टीका साथीहरूलाई कोहीलाई काखा कोहीलाई पाखा, भेदभाव गर्नेछैन,’ उनले भने, ‘सबैलाई मिलाएर लान्छु।
सरकारले मंसिर ४ गते प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० सिटका प्रतिस्पर्धा हुँदैछ।
कांग्रेसले आफ्नो पार्टीका तर्फबाट निर्वाचित देशभरका नगरपालिकाका प्रमुख र उप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो। साे कार्यक्रम मंगलबार सम्पन्न हुने जनाइएको छ।











