सीट बाँडफाँड गर्न गठबन्धन कार्यदलको बैठक बस्दै
काठमाडौं, साउन ३० : आगामी चुनावका लागि सीट बाँडफाँडाबारे छलफल गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै छ।आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौं, साउन ३० : आगामी चुनावका लागि सीट बाँडफाँडाबारे छलफल गर्न सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै छ।
आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले जानकारी दिए। यसअघि बसेको बैठकले सीट बाँडफाँडका विषयमा सैद्धान्तिक सहमति गरेको थियो।
आजको बैठकमा सीट बाँडफाँडबारे थप छलफल हुने भएको छ। यससँगै कार्यदलका सदस्यहरुले आआफ्नो दलको धारणा राख्ने जनाइएको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा तालमेलका लागि सीट बाँडफाँड गर्न गठबन्धनले कार्यदल गठन गरेको थियो। साउन २० गते गठन भएको कार्यदलले तीन वटा बैठक गरेर छलफल गरिरसकेको छ।
कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ। यसमा कांग्रेसका तीन र अन्य दलका दुई दुई जना सदस्य छन्।
कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। कार्यदलले बुझाउने सीट बाँडफाँडको प्रतिवेदनका आधारमा गठबन्धनका शीर्ष नेताले निर्णय गर्नेछन्।











