Kathmandu Press

६ वर्षपछि प्रचण्ड–बाबुराम एक ठाउँमा : चुनाव चिह्न र घोषणापत्र एउटै, चुनावपछि पार्टी एकता !

२०७२ मा संविधान घोषणा भएपछि ५७ बुँदे असन्तुष्टिपत्र सार्वजनिक गर्दै भट्टराई माओवादीबाट अलग्गिएका थिए।
६ वर्षपछि प्रचण्ड–बाबुराम एक ठाउँमा : चुनाव चिह्न र घोषणापत्र एउटै, चुनावपछि पार्टी एकता !

काठमाडौं, साउन २९ : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई अन्ततः पूर्ववत् पार्टीमै फर्किने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई मंसिर ४ गते हुने आम निर्वाचनमा माओवादी केन्द्रसँग मिल्ने भएका हुन् । 

आइतबार खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलमा मंसिर ४ गतेको निर्वाचनमा सहकार्य गर्ने सहमति जुटेको नेपाल समाजवादी  पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेले जानकारी दिए । उनका अनुसार आगामी संघ र प्रदेशको निर्वाचनमा नेपाल समाजवादीले माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकारभित्रको हँसिया हथौडा) र  घोषणा पत्र लिएर जनतामाझ जाने सहमति भएको हो । 

‘एउटै चुनाव चिह्न र घोषणा पत्र लिएर चुनावमा उत्रने सैद्धान्तिक सहमति भएको हो । लिखित सहमति हुन बाँकी छ,’ पाण्डेले भने । एउटै चुनाव चिह्न र घोषणपत्रमा निर्वाचन लड्ने सैद्धान्तिक सहमति भएपनि मोडालिटीबारे भने सहमति भएको छैन । माओवादीकै चुनाव चिह्न र घोषणापत्रमा चुनावमा जाँदा गठबन्धनको सहमति नभाँडिने गरी जानुपर्ने हुन्छ । ‘मोडालिटीबारे छलफल भइरहेको छ,’ पाण्डेले भने । 

माओवादी केन्द्र र नेपाल समाजवादीबीचको सहमतिले यी दुई पार्टी एकताको नजिक पुगेको सहजै आकलन गर्न सकिन्छ । निर्वाचनबाट पार्टीको शक्ति बढाउँदै निर्वाचनपछि सम्मानजनक उपस्थिति हुनेगरी माओवादी केन्द्रसँग एकता गर्ने रणनीति नेपाल समाजवादीको छ । प्रचार विभाग प्रमुख पाण्डेले निर्वाचन पछाडि मात्रै पार्टी एकता गर्ने ढंगले छलफल भएको बताए । यसमा माओवादी केन्द्र पनि सकारात्मक देखिएको उनको भनाई छ  । 

उनले माओवादी केन्द्रसँग मात्र नभई वामपन्थी धारका अन्य राजनीतिक दलसँग पनि एकता गर्दै समाजवादी केन्द्र निर्माण गर्ने पक्षमा अध्यक्ष भट्टराई रहेको बताए ।‘पूर्वमाओवादीहरुमात्रै एक ठाउँमा आएर हुँदैन । नेपालमा कम्युनिस्ट आन्दोलनलाई जोगाउन वामपन्थी धारलाई एकिकृत गरी समाजवादी केन्द्र निर्माण गर्नुपर्ने आजको आवश्यकता हो । त्यसका लागि कम्युनिस्टहरुको वृहत ध्रुविकरण जरुरी छ। निर्वाचनपछि सोही उद्धेश्यका साथ वामपन्थी दलहरुसँग छलफल हुनेछ,’ उनले भने। 

भट्टराई जसपामै हुँदा समाजवादी केन्द्र निर्माण गर्नेबारे अन्य दलसँग छलफल चलाएका थिए  । उपेन्द्र यादव र डा भट्टराईबीचको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि दुबै जना सहमतिमै अलग हुने निष्कर्षमा पुगेका थिए । फुटअघि भट्टराईले आफूपक्षीय केन्द्रीय समितिको बैठक काठमाडौंमा गरेका थिए भने यादवले वीरगंजमा बैठक गरेका थिए । वीरगंजको बैठकले भट्टराई र उनीपक्षका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । 

यादवपक्षले कारवाही गरेपछि भट्टराईले आफ्नो नेतृत्व रहने गरी निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेका थिए । त्यसपछि गठबन्धन र तिनका नेतृत्वमा रहेका व्यक्तिहरुसँग भट्टराई नेतृत्वको पार्टीले लगातार छलफल गर्दै आएको थियो । 

माओवादीसँग ६ वर्षपछिको पुनर्मिलन

तत्कालीन माओवादीको उपाध्यक्ष रहेका भट्टराईले अध्यक्ष प्रचण्डसँगको वैचारिक मतभेदका कारण पार्टी छाडेका थिए । माओवादीमा रहँदा नै उनी अर्थमन्त्री र प्रधानमन्त्री समेत बने । संविधान  निर्माणमा पनि भट्टराईको महत्वपूर्ण योगदान रहेको छ । उनी संविधान मस्यौदा समितिका सभापति थिए । २०७२ मा संविधान घोषणा भएपछि ५७ बुँदे असन्तुष्टिपत्र सार्वजनिक गर्दै भट्टराई माओवादीबाट अलग्गिएका थिए। 

त्यसयताको ६ वर्षमा भट्टराई विभिन्न राजनीतिक दलमा आवद्ध भए । माओवादीबाट अलग भएपछि उनले नयाँ शक्ति पार्टी खोलेका थिए । वैकल्पिक राजनीतिक पार्टीका रुपमा स्थापित गराउने उद्धेश्य भनेपनि भट्टराईले उक्त पार्टीलाई धेरै समय निरन्तरता दिन सकेनन् । 

त्यसपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित भए । फोरमसँग एकता गरेको एक वर्षमै मधेश केन्द्रीत दल एक ठाउँमा हुनेगरी जनता समाजवादी पार्टी (जसपा) गठन भयो । तर, जसपा गठन भएको दुई वर्ष नपुग्दै तीन टुक्रमा विभाजन त भयो स्वयम् भट्टराई समेत अल्पमतमा रहँदै नेपाल समाजवादी गठन गर्ने स्थितिमा पुगे ।

एउटै पार्टीमा धेरै समय नरहेका कारण बाबुरामलाई अस्थिर राजनीतिज्ञका रुपमा समेत चित्रण गरिन्छ। चारवटा दलमा आवद्ध भएपछि उनी अन्ततः माओवादीमै फर्किएका छन्। एउटै चुनाव चिह्न,  घोषणापत्र र समानुपातिक सूची प्रयोग गर्ने भनिएपछि सहमित नभाँडिए निर्वाचनलगत्तै बाबुराम भट्टराईको पार्टी माओवादीमै समाहित हुने पक्कापक्की नै रहन्छ। 

निर्वाचन ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एकमात्र संसदीय दल बन्ने व्यवस्था छ । त्यसैले, चुनावपछि पार्टी एकता गर्नैपर्ने वाध्यता प्रचण्ड र बाबुराम दुबैलाई हुनेछ । समाजवादी केन्द्र गठन गर्ने विषय अनिश्चित भएपनि ६ बर्षपछि प्रचण्ड र बाबुरामको पुर्नमिलन भने निश्चित छ।


 

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्