प्रतिनिधिसभाबाट बिमा विधेयक-२०७९ पारित
काठमाडौं, साउन २९ : प्रतिनिधिसभाले बिमा विधेयक, २०७९ पारित गरेको छ।प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बहुमतले सो विधेयक पारित भएको...
काठमाडौं, साउन २९ : प्रतिनिधिसभाले बिमा विधेयक, २०७९ पारित गरेको छ।
प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो।
बिमा प्रणाली तथा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन भन्दै २०७५ असार २७ गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संघीय संसद् सचिवालयमा सो विधेयक दर्ता गराएका थिए।
विधेयकले बिमा व्यवसायको नियमनकारी निकायका रुपमा नेपाल बिमा प्राधिकरण स्थापना गर्ने व्यवस्था गरेको छ। प्राधिकरण गठनसँगै हालको बिमा समिति खारेज हुनेछ।
प्राधिकरण मुख्यतः बिमा सम्बन्धमा सरकारको सल्लाहकारका रूपमा काम गर्नेछ। साथै राष्ट्रिय बिमा नीति बनाउने, बिमा कम्पनीहरूको स्थापनाको स्वीकृति‚ इजाजत, नवीकरण र खारेजसम्मका काम गर्ने अधिकार त्यसलाई हुनेछ।
राष्ट्रिय सभाबाट पनि पारित भएलगत्तै उक्त विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ। राष्ट्रपतिबाट प्रामणीकरण भएपछि ऐनका रूपमा त्यो कार्यान्वयनमा आउनेछ।











