राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान र ग्रेड साउनदेखि लागु गर्न सरकारकाे स्वीकृति
चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ देखि लागु हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने उल्लेख थियो।
काठमाडौं, साउन २९ : सरकारले राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड यही साउन १ देखि लागु हुने गरी स्वीकृत गरेको छ।
साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका हुन्।
उनले आज (आइतबार) मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने।’
चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ देखि लागु हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने उल्लेख थियो।
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रालयअन्तर्गतका विभिन्न आयोजनाका लागि राजपत्रांकित श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने, भदौ ९ गते संयुक्त राष्ट्रसंघको आयोजनामा बैंककमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय सरकारले गरेको छ।
अन्य निर्णयमा विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, जापान सरकारबाट पूर्वी तराईको सिँचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने जापानी ऐन २२ सय ५६ मिलियन करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता स्वीकार गर्ने रहेका छन्।
त्यस्तै बैठकले सप्तकोसी बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद्संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको मन्त्री कार्कीले बताए।
त्यसैगरी बैठकले राष्ट्रिय खेलकुद प्रतियोगीता सम्बन्धी निर्देशिका-२०८९ स्वीकृत गरेको छ भने भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउने निर्णय पनि गरेको छ।











