घरजग्गा राज्यलाई दान गरिसकें, बिरामी परें भने उपचार गर्ने पैसासमेत छैन : ओली
आइतबार काठमाडौंंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू र श्रीमतीको सम्पत्ति राज्यलाई दान गरिसकेका कारण उपचारका लागि पैसा आवश्यक परे त्यसलाई बेच्न समेत नसक्ने बताएका हुन् ।
काठमाडौं, साउन २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिरामी परेको अवस्थामा उपचार गर्ने पैसा समेत नभएको बताएका छन् ।
आइतबार काठमाडौंंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू र श्रीमतीको सम्पत्ति राज्यलाई दान गरिसकेका कारण उपचारका लागि पैसा आवश्यक परे त्यसलाई बेच्न समेत नसक्ने बताएका हुन् ।
सांसद भएकाले थोरै पैसा त आउने तर त्यसबाट उपचारका लागि नपुग्ने उनले बताए । ‘तपाईंहरुले उपचार गर्दिनुभयो भने हुन्छ । मैले मेरो घरजग्गा बेच्न पनि पाउँदिनँ । किनभने दान गरिसकेको छु,’ उनले भने ।
आफूले दोस्रो पटक स्वदेशमै मृगौला प्रत्यारोपण गर्न पाएकामा पनि ओलीले खुशी व्यक्त गरे । सफल मृगौला प्रत्यारोपण पश्चात होसमा आउँदा आफूले आफैलाई निकै भाग्यमानी महशुश गरेको ओलीले बताए । त्यही खुशीमा आफूले गीत रचना गरेको ओलीले सुनाए । उनको रचनामा त भाग्यमानी बोलको गीत शिशिर योगीको स्वरमा सार्वजनिक भइसकेको छ ।