गठबन्धन डर र कर दुवै हो : पौडेल
चितवन, साउन २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज...
चितवन, साउन २९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए।
उनले भने, ‘कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे।’ अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए। उनले भने, ‘कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ।’
को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उहाँले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उनको भनाइ थियो । उनले भने, ‘तलको जनमत हेरेर निर्णय लिन्छौँ ।’ उनले थपे, ‘कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ।’ कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गरे । उनले भने, ‘कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन ।’
आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन।’ कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए । फरक प्रसङ्गमा उनले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन नहुने बताए ।











