आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उपाध्यक्ष ज्ञवालीकाे दाबी

काठमाडाैं, साउन २८ : नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले जनतामा एमालेकाे ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउने दाबी गरेका हुन।
उनले एमाले सरकारको पालामा भएका काम र अहिले पाँच दलीय गठबन्धनको सरकारको बेलामा भएको काम जनताले सुक्ष्म रुपमा हेरिरहेको बताए। सत्ता गठबन्धनमा तालमेलको विषय पेचिलो बनेको उल्लेख गर्दै उनले गठबन्धनमा कांग्रेससँग अरु दल निरीह बनेको टिप्पणी गरे। ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई पहिलो दल बनाउन सक्रिय भएर लागेको बताए।
ज्ञवालीले एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई आधार बनाएर अघि बढिरहेको बताए।











