एमालेलाई बहुमतबाट रोक्न गठबन्धन सक्रिय : ओली
काठमाडाैं, साउन २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्न गठबन्धन लागिपरेको बताएका छन्।लोकतान्त्रिक शेर्पा संघले शनिबार काठमाडौंमा आयोजना गरेको...
काठमाडाैं, साउन २८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्न गठबन्धन लागिपरेको बताएका छन्।
लोकतान्त्रिक शेर्पा संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलले नपुगेर आठ दलको गठबन्धन बनाउन दौडधुप चलिरहेको बताएका हुन्।
ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर देशलाई माथि उठाउनका लागि एमालेको सरकार आवश्यक रहेको धारणा राखे।
ओलीले लोकतन्त्रमा प्रतिष्पर्धा हुनु स्वाभाविक भएपनि अहिलेको गठबन्धन भोट पाउनका लागि शत्रुता गर्न खोजिरहेको तर्क गरे। उनले कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने अवस्थामा पुगेर अरु दलको साहारा खोजिरहेको धारणा राखे।
लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लान खाजेको उनको आरोप छ। ओलीले देशभित्रको दुश्मनीले बाह्य शक्तिले फाइदा लिन सक्ने भएकाले सवै सचेत रहनुपर्ने जिकिर गरे।
उनले आफ्नो सम्पूर्ण चल अचल सम्पति राज्यको नाममा गरिदिएको भन्दै अरु कुनै नेताले आफ्नो सम्पती राज्यको नाममा गर्न चुनौती दिए।
अध्यक्ष ओलीले देशको राजनीतिलाई सहि ढंगले अघि बढाउन एमाले मजबुद भएर एमालेको सरकार बन्नुपर्ने बताए। आगामी निर्वाचनमा जनताले सहि विश्लेषण गरेर निर्णय गर्ने उहाको भनाइ छ।











