Kathmandu Press

फोहाेरले कालीमाटी तरकारी बजारकाे प्रवेशद्वार बन्द

कालीमाटीमा केरा बेच्दै आएकी रमिता लामाका अनुसार दुई महिनादेखि साे क्षेत्रमा फाेहाेरको गाडी आएकाे छैन।
फोहाेरले कालीमाटी तरकारी बजारकाे प्रवेशद्वार बन्द

काठमाडौं, साउन २८ : नियमित रुपमा फाेहाेर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ।  

कालीमाटीबाट तरकारी बजार प्रवेश गर्न तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने  एक मानिसका लागि बनाइएको हो। दुई महिनादेखि कालीमाटी क्षेत्रको फाेहाेर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फाेहाेर र घरबाट निस्केको फाेहाेरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन। 
 
फाेहाेरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आएकी रमिता लामा बताउँछिन्। उनका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फाेहाेरको गाडी आएका छैनन्।    

कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फाेहाेरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ।  

कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फाेहाेर थुप्रिएकाले  दैनिक जनजीवनमा असर परेको छ । कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फाेहाेर सडक किनारामा हुँदा थुप्रिँदा समस्या भएको हो। 

आजदेखि फाेहाेर व्यवस्थापन 

यही साउन २२ गते काठमाडौँ उपत्यकाबाट फाेहाेर बोकेर अन्तिम व्यवस्थापन स्थल जाने क्रममा सिसडोलवासीले गाडी तोडफोड गरेपछि व्यवस्थापन हुन नसकेको फाेहाेर आजदेखि पुनः सुरु भएको छ। 

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई कहिले स्थानीयवासीको अवरोध, कहिले बाटोका कारण त कहिले गाडी तोडफोड हुँदा फाेहाेर व्यवस्थापनमा समस्या आएको र आगामी दिनमा अन्य अवरोध सिर्जना नभए नियमितरुपमा फाेहाेर व्यवस्थापन हुने बताउँछिन्।   
 
पछिल्लो समय जटिल बनिरहेको उपत्यकाबाट उत्पादित  कुहिने फाेहाेर व्यवस्थापनका लागि स्थान पहिचानको काम भइरहेको पनि कामपाले जनाएको छ।  कामपाले अन्य स्थानीय तहसँगको सहकार्यमा कुहिने फाेहाेरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ। 

उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फाेहाेर व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ। उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फाेहाेर व्यवस्थापन गर्न सकिनेछ। उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ। 

योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ। सबै किसिमका फाेहाेर बञ्चरेडाँडा पुर्‍याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरूपमा फाेहाेरको दीर्घ समाधानका लागि स्थान पहिचानमा समय लागेको हो। बञ्चरेडाँडामा हानिकारक फाेहाेर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको छ। 

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल अन्य सम्भावित स्थान पहिचान गर्ने काम पनि जारी छ। यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपाका साथै  अन्य स्थानमा पनि महानगरप्रमुख बालेन्द्र शाहको नेतृत्वमा जग्गा खोज्ने काम भइरहेको छ।

हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्मको छ। अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उनले बताए। 

फाेहाेर स्रोतमै वर्गीकरण प्रभावकारी भएन

फाेहाेर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि कामपाले यही साउन एक गतेदेखि स्रोतमा नै फाेहाेर वर्गीकरण गरी कुहिने र नकुहिने फाेहाेर फरकफरक तरिकाबाट व्यवस्थापनको काम सुरु गरेको थियो।

सुरुका केही दिनमा वर्गीकरण गरिएको फाेहाेर व्यवस्थापन गरिए पनि अहिले सबै किसिमका फाेहाेर एकै भाँडोमा राखेर आउने गरेको कामपाकै भनाइ छ। यसलाई आगामी दिनमा प्रभावकारी बनाउनका लागि नियमित अनुगमन गरी फाेहाेरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्ने तयारी गरिएकोे छ।

कामपाको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फाेहाेर व्यवस्थापन हुँदै आएको छ। फाेहाेर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ। कामपाले मात्रै फाेहाेर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फाेहाेर व्यवस्थापन भइरहेको छ।

निजी संस्थाले फाेहाेर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फाेहाेर व्यवस्थापन हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन्। (रासस)

प्रकाशित मिति: १७:२९ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्