निहारिकालाई भेटेपछि बालेनले भने- बच्चाकाे डिएनए टेस्ट गर्न पनि आमाले जल्न तयार हुनुपर्ने?
काठमाडाैं, साउन २८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आज (शनिबार) त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर निहारिका राजपूत (सोनालकुमारी सिंह) सँग भेट...
काठमाडाैं, साउन २८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आज (शनिबार) त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर निहारिका राजपूत (सोनालकुमारी सिंह) सँग भेट गरेका छन्।
शुक्रबार शीतल निवासअगाडि आत्मदाहको प्रयास गर्ने निहारिकालाई भटेको विषयमा उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। निहारिकासँगको भेटमा लिइएको तस्बिरसमेत सार्वजनिक गरेर उनले बच्चाको डिएनए टेस्टको माग पनि सरकारले पूरा गर्न नसक्नु अत्ति भएको प्रतिक्रिया दिएका छन्।
‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनी राज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन,’ उनले फेसबुकमा लेखेका छन्।
शुक्रबार शीतल निवास पुगेर आत्मदाहका लागि शरीरमा पेट्रोल खन्याएको देखेपछि निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीया निहारिका न्याय माग्दै एक सातायता भौंतारिँदै आइरहेकी छन्।
डेढ महिनाअघि पनि उनी काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनशन बसेकी थिइन्। सरकारसँग पाँचबुँदे सहमति भएपछि असार २ गते उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी थिइन्।
सरकारले असारमा आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी आन्दोलित भएकी हुन्।
आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको आरोप लगाएकी छन्। आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने उनको मुख्य माग रहेको छ।











