Kathmandu Press

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मन्त्री र सांसद धर्नामा बस्ने

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्दा पनि अल्टिमेटमसहित ज्ञापन पठाउँदा पनि कुनै सुनुवाइ नभएपछि धर्नाको विकल्प नरहेको उनले बताए।
प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मन्त्री र सांसद धर्नामा बस्ने

जनकपुरधाम, साउन २८ : प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मन्त्री र सांसद धर्नामा बस्ने भएका छन् ।

आज (शनिबार) पत्रकार सम्मेलन गरी  गृह तथा सञ्चारमन्त्री भरत साहले लामो समय बित्दा पनि संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै विरोधस्वरुप प्रदेश प्रमुखको कार्यालयमा आफै धर्नामा बस्न लागेको जानकारी दिए।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्दा पनि अल्टिमेटमसहित ज्ञापन पठाउँदा पनि कुनै सुनुवाइ नभएपछि धर्नाको विकल्प नरहेको उनले बताए।

पत्रकार सम्मेलनमार्फत उनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरे। जसअनुसार उनले आइतबारदेखि एक सात बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिने बताएका हुन्। धर्नामा प्रदेशका मन्त्री, प्रदेश सांसदको सहभागिता रहने मन्त्री साहले बताए। 

सो अवधिमा पनि सरकारले ध्यान नदिए अर्को चरणको आन्दोलन घोषणा गर्ने जानकारी पनि उनले दिए।

यसअघि प्रदेशका मन्त्रीहरूले गत साता मात्र प्रहरी समायोजनका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै आन्दोलनको अल्टिमेटम दिएका थिए।

संविधानमा प्रहरी र शान्तिसुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने उल्लेख छ। तर त्यसअनुरूप प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नपाएको मन्त्री साहको भनाइ छ।

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्