स्वास्थ्य बिमाको जिम्मा निजी क्षेत्रलाई दिन मिल्दैन : महामन्त्री थापा
काठमाडौं, साउन २८ : कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बिमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्।सहरी स्वास्थ्य प्रवर्धन केन्द्रले आज (शनिबार) राजधानीमा...
काठमाडौं, साउन २८ : कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बिमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्।
सहरी स्वास्थ्य प्रवर्धन केन्द्रले आज (शनिबार) राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले निजी क्षेत्रलाई स्वास्थ्य बिमा गर्न दिए बीमा नै नरहने दाबी गरे। उनले बिमा पनि सामाजिक स्वास्थ्य सुरक्षाको एउटा विषय भएको बताए।
‘स्वास्थ्य बिमा निजी क्षेत्रलाई म दिन्छु भनेर गयो भने बिमा नै रहँदैन। यो हाम्रो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो’ उनले भने। स्वास्थ्यमा सबैको पहुँच पुर्याउने लक्ष्यका साथ बिमा कार्यक्रम सुरु गरिएको उनले बताए।
महामन्त्री थापाले सरकारले स्वास्थ्य प्रणाली जोगाउन नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउनसपर्नेमा जोड दिए। अस्पताल निर्माणलाई मात्र स्वास्थ्य प्रणालीको सुधारसँग जोड्नु गलत भएको तर्क उनले गरे।
‘हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने हिसाबले स्वास्थ्य प्रणाली विकास गर्न सकेनौं भने प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौं भने थेग्न मुस्किल पर्छ,’ उनले भने, ‘सरकारले खाली कति वटा अस्पताल बनाउने भन्यो र अस्पतालहरूको शिलान्यास गरियो। हामीले स्वास्थ्य प्रणालीलाई अस्पताल निर्माणमा लगेर जोड्ने प्रवृत्तिबाट बाहिर निस्किनुपर्छ।’











