कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न...
काठमाडौं, साउन २८ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ।
यससँगै कार्यसम्पादन समितिको बैठकमा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुनेछ। त्यस्तै, देशव्यापी रुपमा सञ्चालन हुने संगठन सुदृढिकरण अभियानबारे पनि छलफल हुनेछ। कांग्रेसले भदौ २ देखि २४ गतेसम्म देशव्यापी संगठन सुदृढीकरण अभियान चलाउँदै छ।
आजको बैठकमा जनप्रतिनिधिको भेलाका विषयमा पनि छलफल हुनेछ। कांग्रेसले साउन ३० र ३१ गते जनप्रतिनिधिको भेला गर्न लागेको छ।
यसका अतिरिक्त गठबन्धन कार्यदलको बैठकमा कांग्रेसले दाबी गर्नुपर्ने सीटका विषयमा पनि कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ। गठबन्धन कार्यदलको बैठक साउन ३० गते बोलाइएको छ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेको छ। त्यसका लागि सीट बाँडफाँड गर्न पाँच दलीय गठबन्धनले कार्यदल गठन गरेको छ। कार्यदलले सीट बाँडफाँडका विषयमा छलफल हुँदै आएको छ।











