सहमतिमै नागरिकता विधेयक पारित गरिएको हो: गृहमन्त्री
रुपन्देही, साउन २८ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन्।वर्षौदेखि नागरिकताविहीन...
रुपन्देही, साउन २८ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन्।
वर्षौदेखि नागरिकताविहीन युवाको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबीच सहमति गरेर विधेयक सदनबाट पारित गरेको उनको भनाइ थियो। उनले भने, 'बाबुआमा नेपालमा रहेको तर छोराछोरी नागरिकताविहीन हुँदा राज्यबाट पाउनुपर्ने सबै अधिकारबाट वञ्चित युवाको भावनाअनुसार विधेयक पास गरिएको हो।'
गृहमन्त्री खाणले १० वर्ष उमेरमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाको पूर्ण खोप दिगोपना सुनिश्चितता रुपन्देही जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले सबै दलका नेताहरुसँग गहन छलफल गरेर यो विधेयक सदनमा अघि बढाएकोसमेत बताए।
उनले नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर राष्ट्रपतिकामा स्वीकृतका लागि पठाइएको र यो विधेयक छिटो स्वीकृत होस् भन्ने आम नेपाली जनताको चाहना रहेको उल्लेख गरे। उनले नेपालका हिमाल, पहाड र तराई जुन भूभागमा बसोबास गरेको छ त्यहीकै समुदायले नै भूगोलको रक्षा गरेको चर्चा गर्दै नेपाली भाषा, संस्कृति र भूगोलको रक्षा गर्ने वास्तविक नेपाली नागरिक नै राष्ट्रियताको संरक्षक भएको बताए।
गृहमन्त्री खाणले सबैको सामूहिक प्रयासबाट नै कोभिड–१९ जस्तो महामारीलाई नियन्त्रण गर्न सकिएको भन्दै यसबाट जस्तोसुकै पनि विपद्लाई सामना गर्ने क्षमता नेपाली जनता र राज्यमा बढेको बताए। कोभिड–१९ का कारण देशमा सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई परेको र यसबाट लुम्बिनी क्षेत्रको पर्यटन पनि प्रभावित रहेको उनको भनाइ थियो।











