मंसिर ३ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने
काठमाडौं, साउन २५ : आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।उमेर पुगेका...
काठमाडौं, साउन २५ : आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।
उमेर पुगेका नागरिकले मतदानबाट बञ्चित हुन नपरोस् भनेर मंसिर ३ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिलाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ। यसका लािग फोटोसहितको मतदाता नामावलीमा नाम हुनुपर्नेछ।
आयोगले साउन २० गतेदेखि नयाँ मतदाताको नामावली सङ्कलन स्थगन गरेको छ। आयोगले मंसिर ३ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिको मतदाता नामावली अध्यावधि गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
अहिले आयोगले साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मितिभन्दा अघिल्लो दिन मंसिर ३ गतेसम्म १८ पर्ष पुग्ने व्यक्तिको मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया शुरु गरेको छ। भदौ १२ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यालयमा मतदाता नामावली अद्यावधिकको काम हुने प्रवक्ता पौडेलले बताए।
यो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिने, दोहोरो नामावली र एकाघर परिवारका सदस्यको ज्यान गएको भए हटाउन निवेदन दिनेलगायतका काम हुने उनले बताए।
आयोगले भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। आगामी मंसिर ४ गते चुनाव हुनेछ।











