राष्ट्रपतिले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता गर्न सक्ने उपराष्ट्रपतिको आशंका
काठमाडाैं, साउन २४ : उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका व्यक्त गरेका छन्। संघीय संसदबाट पारित...
काठमाडाैं, साउन २४ : उपराष्ट्रपति नन्दबहादुर पुनले नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नेमा आशंका व्यक्त गरेका छन्। संघीय संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा फिर्ता गर्न सक्ने आशंका व्यक्त गरेका हुन्।
मंगलबार उपराष्ट्रपति पुनले नागरिकताविहीन संघर्ष समितिका इन्द्रजित साफी सहितको टोलीसँगकाे भेटमा उपराष्ट्रपति पुनले भने, 'राष्ट्रपतिले विधेयक फिर्ता गर्ने कुरा हामीलाई पनि लागिराखेको छ तर सभामुख, प्रधानमन्त्री, गृहमन्त्रीले राष्ट्रपतिले फिर्ता पठाए पनि छिट्टै संशोधन गरेर फेरि राष्ट्रपति कहाँ पुर्याउँछौं, त्यसो भएपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ।'
साफीले उपराष्ट्रपतिलाई भेटमा बुवा-आमा नेपाली नागरिक भएर पनि आफूहरू अनागरिक भएको विषय राखेको बताए।
उपराष्ट्रपतिले आफूहरूको माग जायज भएको टिप्पणी गरेको साफीले बताए।
संघीय संसदको दुबै सदनबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक सभामुख अग्नि सापकोटाले गत साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। तर एक साता नाघिसक्दा समेत राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेकी छैनन्।











