कांग्रेसले पार्टीबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसले पार्टीबाट विजयी नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा...
काठमाडौं, साउन २३ : नेपाली कांग्रेसले पार्टीबाट विजयी नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको बैठकले सरकार सञ्चालनलगायत विषयबारे उनीहरूलाई प्रशिक्षण दिने निर्णय गरेको हो। कांग्रेसले २०७४ सालको निर्वाचनपछि पनि जनप्रतिनिधिलाई प्रशिक्षण दिएको थियो।
बैठकमा केही पदाधिकारी र पूर्वपदाधिकारीले प्रत्यक्षतर्फ आफूलाई १०० सिट राखेर मात्र चुनावी तालमेल गर्न सुझाव दिएको जनाइएको छ। १०० सिट आफ्नो भागमा पार्न सम्भव नभए तालमेल नै नगर्न पनि सुझाइएको एक पदाधिकारीले बताए।
ती पदाधिकारीका अनुसार कांग्रेसले १०० सिट नलिए पार्टीमा व्यवस्थापन सम्भव नहुने आवाज बैठकमा उठेको छ।
मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गरेको तीन दिनपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।
साउन २० मा सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेकाे थिया। त्यसमा कांग्रेसका तीन सदस्य छन्।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रुपमा यति नै सिट भन्ने करा नउठेको बताए। २०७४ सालको चुनाव तथा गत वैशाख ३० मा सम्पन्न स्थानीय चुनावको मतलाई आधार मानेर तालमृल गर्न सुझाइएको उनले जानकारी दिए।
पार्टीका तर्फबाट गठबन्धनको कार्यदलमा रहेका सदस्यहरुलाई सुझाव दिन सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेको र प्राप्त सुझावकै आधारमा पार्टी अघि बढ्ने उनले बताए।











