Kathmandu Press

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

काठमाडौंं, साउन २३ : अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणाअनुसार नै कर्मचारीहरुको तलबमान लागु हुने आश्वासन दिएका छन्।

पाँच कर्मचारी संगठनका अध्यक्षहरुसँग आज (सोमबार) भएको भेटमा उनले बजेटमा गरिएको घोषणाअनुसार १५ प्रतिशत नै तलब वृद्धि लागु गर्ने आश्वासन दिएका हुन्। नमिलेका विषय  ‘पे कमिसन’ गठन गरेर मिलाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेको जनाइएको छ।

बजेटमा गरिएको व्यवस्थाविपरीत कर्मचारीहरूको तलब असमान ढंगले वृद्धि गरिएको भन्दै कर्मचारीहरु आन्दोलित भइरहेका बेला नेपाल निजामती कर्मचारी युनियनका गोपाल पोखरेल, निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, मधेसी कर्मचारी संगठनका अध्यक्ष भुवनेश्वर चौधरी र एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेले अर्थमन्त्रीलाई भेटेका थिए।

आर्थिक वर्ष २०७९/८० को बजेटमा सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशत वृद्धि गर्ने उल्लेख भए पनि कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि भएको डकुमेन्ट सार्वजनिक भएपछि कर्मचारी आन्दोलित भएका हुन्।

पुष्टि हुन बाँकी सो डकुमेन्टमा शाखा अधिकृतहरुले यही साउनदेखि २४ प्रतिशत, उपसचिवको २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउने उल्लेख छ।

तलब वृद्धि असमान रूपमा गरिएको भन्दै आज (सोमबार) सिंहदरबारभित्र ‘पेन डाउन’ गरेका तल्लो तहका निजामती कर्मचारीले भोलि (मंगलबार) विरोधका रुपमा बिदा बस्ने घोषणासमेत गरेका छन्।

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, साउन २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्