गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको पहिलो बैठक बस्दै
दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा भागबण्डाको मोडालिटीबारे प्रारम्भिक छलफल हुनेछ।
काठमाडौं, साउन २३ : सत्तारुढ गठबन्धन दलबीच संघीय निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको पहिलो बैठक सोमबार बस्दै छ । निर्वाचन घोषणापछि गठबन्धन दलबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेलगत्तै गठन गरिएको कार्यदलको बैठक आज बस्न लागेको हो ।
दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा भागबण्डाको मोडालिटीबारे प्रारम्भिक छलफल हुनेछ। गठबन्धनले पाँचवटै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलको पहिलो बैठक सोमबार बस्न लागेको हो ।
गठबन्धनले कार्यदललाई श्रावण मसान्तभित्र सिट बाँडफाँटको खाका तयार गरी बुझाउन भनेको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।











