Kathmandu Press

विशेष फुटबल प्रशिक्षणकाे लागि फुटबल टोली नेदरल्याण्ड्स प्रस्थान

काठमाडाैं, साउन २२ : नेदरल्याण्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई...
विशेष फुटबल प्रशिक्षणकाे लागि फुटबल टोली नेदरल्याण्ड्स प्रस्थान

काठमाडाैं, साउन २२ : नेदरल्याण्ड्सको हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र विशेष प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले प्रशिक्षणमा सहभागी हुन जाने स्वस्तीश्री गुरुकूलका २३ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। उपाध्यक्ष ज्वालाले त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलमा उपयोगी हुने विश्वास व्यक्त गर्दै टोलीले नेपालको समेत प्रतिनिधित्व गर्ने भएकाले नेपालको इज्जत बढाउन कुनै कसर बाँकी नराख्न टोलीलाई निर्देशन दिए।

उनले खेलकुदको उद्गम थलो स्कुल नै भएकाले खेलाडी तयार गर्न स्वस्तीश्रीले गरेको कार्यको सरहाना गर्दै खेलाडीलाई उपयुक्त ज्ञान हासिल गरेर आउन शुभकामना व्यक्त गरे।

यस्तै खेलाडीलाई बिदाइ गर्ने क्रममा अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष दावा लामाले हल्याण्ड जाने टोली स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने भएकाले शीर्ष ज्ञान प्राप्त गर्न शुभकामना दिए।

नेपाली फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुन जाने टोलीमा प्रशिक्षकमा ज्वाला विष्ट र खेलाडीमा दीर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, शाश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाइचुङ तामाङ, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जास्मिन सापकोटा र रिहानमान जोशी रहेका छन्। प्रशिक्षण कार्यक्रम यही २५ साउन देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

खेलाडीहरू आफ्नो खर्चमा त्यसतर्फ प्रस्थान गर्न लागेको र व्यक्तिगत सम्बन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागी हुन लागेकाले कुनै प्रकारको छनोट नगरिएको नेतृत्वकर्ता गुरुङले जानकारी दिए। टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १९:५४ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्