Kathmandu Press

अरूले २० वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरिदियाे : ओली

एमालेले गरेको काम जहाँ उभिएको छ त्यही देखिने अनि देशभरि जहाँ पुगियो त्यही भेटिने दाबी उनले गरे।
अरूले २० वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरिदियाे : ओली

काठमाडाैं, साउन २२ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरूले २० वर्षमा गर्न नसकेको काम एमालेले ३ वर्षमा गरिदिएको दाबी गरेका छन्। आज (आइतबार) ललितपुरमा आयाेजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको पहिलो बैठक एवं कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले गरेको काम जहाँ उभिएको छ त्यही देखिने अनि देशभरि जहाँ पुगियो त्यही भेटिने दाबी गरे।

‘भुइँचालोले भत्काएको ७ लाख घर पुनर्निर्माण गरेर जनतालाई हस्तान्तरण एमालेले गरेको हो। आँधीबेहरीले ८८७ घर बनाएर जनतालाई दियौ,’ उनले भने, ‘एमालेले कैयौं सडक र पुल बनाएको छ । जनकपुरमा रेल चलाएको  छ । सुनसरीको कोसीमा चतराबाट भोजपुर १० मिनेटको स्टिमरले पुर्याउने अवस्था बनाएको छ । गण्डकीमा पनि स्टिमर चलेको छ।’

एमालेकै कारण नेपाल अब खासै दुर्गम नरहेको जिकिर उनले गरे। एमालेकै पालामा हुम्लाबाहेक हरेक जिल्ला सदरमुकाममा बाटो पुगेको उनले बताए। अनेक नाका खोलेको मात्र नभई सरकारी भवन, प्रहरी चौकी, दरबार क्षेत्र, रानीपोखरी, धरहरा, विद्यालय, पुरातात्विक क्षेत्रको विकास एमालेको अगुवाइमा भएको जिकिर उनले गरे। 

भेरी, सेती, कोसी, गण्डकी, मस्र्याङ्दी, अरुण, तमोरलगाइत धेरै करिडर बनाएको मात्र नभई नेपाललाई डिजेटलाइजेसनको दुनियाँमा लाने काम एमालेले गरेको उनको भनाइ थियो। ‘ज्येष्ठ नागरिक सुविधा, कर्मचारी तलब , मजदुरको ज्याला वृद्धि गरेको एमालेले नै हो। सामाजिक सुरुक्षा, स्वास्थ्य बिमा आदि धेरै काम गरेको भन्दै जाने हो भने दुईचार घन्टा लाग्छ,’ उनले भने। 

आफूले संसदमा प्रधानमन्त्रीलाई २० वर्ष सरकारको नेतृत्व गरेको कांग्रेसले के काम गर्‍यो भनेर सोधेको तर योचाहिँ काम गरेको भनेर देख्ने काम केही नभएको तर एमालेले गरेको काम जताततै  देखिने दाबी उनले गरे।

गाडीमा हिँड्दा एमालेले बनाएको बाटो पुल भेटिने, घरको रझ्याल खोलेर हेरे एमालेकै विकास देखिने, मेची, दार्चुला, महाकाली, वाग्मती, कर्णाली जहाँ पुगेर हेरे पनि एमालेको विकास भेटिने बताउँदै उनले एमालेको नेतृत्वमा सरकार हुँदा ३९६ अस्पताल एकै दिन सुरु गरेको दाबी गरे। 

कोभिड संक्रमणसँग जुध्न स्वास्थ्य सामग्री गाडीबाट सम्भव नर्भपछि हवाइजहाजबाट ल्याइएको दाबी उनले गरे। भारतबाट पाइपबाट इन्धन मात्र नल्याएर गुमेको भूभाग मेटिएको नक्सा पनि ठिक बनाएको दाबीसमेत उनले गरे। 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्