आफैंले बनाएकाे कानुन आफैंले मिचिरहेकाे जस्ताे नदेखियाेस् भन्नेतर्फ सजग हुनुपर्छ : रावल
काठमाडाैं, साउन २२ : एमाले सांसद भीम रावलले आफैंले बनाएकाे कानुन आफैंले मिचिरहेकाे जस्ताे नदेखियाेस्र भन्नेतर्फ सम्बन्धित सबै व्यक्ति तथा निकाय सजग रहनुपर्नेमा...
काठमाडाैं, साउन २२ : एमाले सांसद भीम रावलले आफैंले बनाएकाे कानुन आफैंले मिचिरहेकाे जस्ताे नदेखियाेस्र भन्नेतर्फ सम्बन्धित सबै व्यक्ति तथा निकाय सजग रहनुपर्नेमा जाेड दिएका छन्।
प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावको विषयमा भइरहेको छलफलमा भाग लिँदै उनले त्यस्ताे बताएका हुन्।
'न्यायपालिकाका सन्दर्भमा उठेका कुराहरुलाई पनि निष्पक्ष ढंगले र सत्यतथ्य पत्ताका आधारमा निरुपण गर्नुपर्छ। हाम्रो राज्य प्रणाली हाम्रै लागि काम नलाग्ने नहोस् भन्नेमा विचार पुर्याउनुपर्छ। न्यायालयप्रति जनताको वितृष्णा नहोस्। देश र दुनियाँले हेर्दा हामी आफैंले कानुन मिचिरहेका छौं, आफैं विकृतिका वाहक बनिरहेको छौं भन्नेजस्ता कुरा नदेखियुन् भन्नेतर्फ सजग रहनुपर्छ,’ उनले भने, ‘देशको बृहत्तर हितका लागि सोच्नु अत्यन्त आवश्यक छ। महाभियोगका सम्बन्धमा समितिले छलफल गरेर सदनमा सत्यतथ्य कुरा ल्याएपछि त्यसमाथि छलफल हुनुपर्छ। सुनेका सबै कुरा सत्य हुँदैनन्।’
महािभयाेगकाे कुरा उठिसकेपछि त्यसलाई संविधान र कानुनबमोजिम तथ्यसंगत ढंगले समयमै निराकरण गर्नु व्यवस्थापिका र राजनीतिक क्षेत्रका व्यक्तिहरूको कर्तव्य भएको उनले बताए।
हाम्रो राज्यप्रणाली र मातहतका विभिन्न निकायमा लथालिंग देशको भताभुंग चाला भन्नेजस्ता प्रवृत्ति देखा पर्न थालेको पनि उनले बताए। लामो समय बितिसक्दा पनि स्वतन्त्र न्यायपालिका भनिने सर्वोच्च निकायका प्रमुख व्यक्तिमाथिको महाभियोगलाई छलफल नल्याइएको र देश आम निर्वाचनमा प्रवेश गरिसकेकपछि यसलाई छलफलको विषय बनाइनु उचित नहुने भन्नतर्फ हेक्का नराखिएको उनले बताए।
महाभियोगजस्तो संवेदनशील विषयलाई समयमै निराकरण नगरिएकोप्रति उनले आपत्ति जनाए। महाभियोगबारे छानबिन समिति बनाइएको भनिए पनि त्यसको अत्तोपत्तो नभएको भन्दै उनले व्यंग्य गरे। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा विकृतिको थुप्रो लाग्नु गम्भीर विषय भएको र यसले देशलाई हित नगर्ने उनकाे भनाइ थियाे।
कोही पनि व्यक्ति संविधान र कानुनभन्दा माथि नहुने भए पनि नेपालमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जताततै संविधान र कानुन मिच्ने प्रवृत्ति बढिरहेको उनले दाबी गरे।










![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)
