‘जबरामाथिको महाभियोग प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्षको आँखाले नहेरौं’
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावलाई सत्ता पक्ष र प्रतिपक्षको...
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावलाई सत्ता पक्ष र प्रतिपक्षको आँखाले नहेर्न आग्रह गरेकी छन् ।
आइतबार प्रतिनिधि सभामा जबराविरुद्धको महाभियोगबारेको छलफलमा बोल्दै सांसद संग्रौलाले लोकतन्त्रको अन्तिम कडी नै न्यायपालिका भएका कारण यसमा पक्ष र विपक्ष हुँदा जनताले न्याय नपाउने बताइन् ।
उनले नैतिक विचलन र कार्यक्षमता नभएको व्यक्ति सर्वोच्चको गरिमामय पदमा बसिरहन नमिल्ने बताइन् । जबरामाथिको महाभियोग संविधानसम्मत रहेको उनले बताइन् । संग्रौलाले जबराको कृयाकलाप र कार्यशैलीले उनीमाथि महाभियोग नै उपयुक्त हुने बताइन्।
न्यायालयभित्र विकृति, विसंगती, विभेद, बेथितिलाई उत्कर्षमा पुर्याएको , विचौलियाको राज बढाइएको, इजलास गठन र मुद्दा फैसलामा समेत मिलेमतो गरेको भन्दै बार र नागरिक समाज आन्दोलनमा उत्रिँदा जबराले नै सहज निकास नदिएका कारण निकासका लागि महाभियोग दर्ता गरिएको उनको भनाई छ।
‘संविधानले न्यायापािलका स्वतन्त्र निष्पक्ष, स्वतन्त्र र जवाफदेही न्यायापालिकाको परिकल्पना गरिएको छ, ’ उनले भनिन्, ‘सोही अनुसार संवैधानिक निकायले न्याय निरुपण गर्दा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तको आधारमा न्याय निरुपण गर्नुपर्दछ ।’ तर, संविधानको भावनाविपरित स्वेच्छाचारी ढंगले, न्याय क्षेत्रलाई ध्वस्त पार्ने ढंगका क्रियाकलाप देखिएपछि महाभियोग प्रस्ताव ल्याइएका उनले बताइन्।
जबरामाथि लोकतन्त्र मानवअधिकार जनताको न्याय विधिको शासन संवैधानिक सर्वोच्चता एवम् स्वतन्त्रता, सक्षम र निष्पक्ष न्यायपालिकाको जगेर्ना गर्न नसकेको तथा विकृति विसंगती भ्रष्टाचार एवम् अवैध सम्पत्ती आर्जन गर्ने गराउने कार्यमा संलग्न भएको आरोप रहेको संग्रौलाले बताइन् । ‘सर्वोच्चमा विचौलियाको प्रवेश गराएकोले पनि यो प्रस्ताव ल्याइएको हो,’ उनले भनिन्।










![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)
