महाभियोग छिटाे टुंग्याए सत्ता गठबन्धन र सभामुखको इज्जत जाेगिन्छ : महेश बस्नेत
काठमाडाैं, साउन २२ : एमाले सांसद महेश बस्नेतले महाभियोगलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। सत्ता गठबन्धन र सभामुख अग्निप्रसाद सापकोटाको इज्जतसँग जोडिएको विषय...
काठमाडाैं, साउन २२ : एमाले सांसद महेश बस्नेतले महाभियोगलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। सत्ता गठबन्धन र सभामुख अग्निप्रसाद सापकोटाको इज्जतसँग जोडिएको विषय भएकाले महाभियोग छिटाे टुंग्याए उनीहरूकाे इज्जत जाेगिने उनले बताए।
प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा निलम्बित प्धानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावको विषयमा भइरहेको छलफलमा भाग लिँदै उनले भने, 'लामाे समयदेखि अलपत्र परेकाे महाभियोगलाई छिटो टुंग्याए सत्ता गठबन्धन र सभामुखको पनि इज्जत जोगिन्छ।'
तीन महिनामा टुंग्याउनुपर्ने विषय साढे पाँच महिना बितिसक्दा पनि टुंग्याउन नसक्नु सत्ता गठबन्धन र सभामुको कमजोरी भएको उनकाे भनाइ थियाे।
फागुन २९ गते दर्ता भएको महाभियोग प्रस्ताव अहिले निष्पक्ष ढंगले छानबिन गर्ने र त्यसलाई एउटा टंगोमा पुर्याउन ल्याइएको भन्दा पनि आलटाल गर्ने, समितिमा पठाउने र विचाराधीन रहेकै अवस्थामा जबराको कार्यकाल पूरा गराउने मनशाय देखिएको उनको भनाइ थियो। आगामी मंसिर १४ गते जबराको कार्यकाल सकिने भएकाले यस्तो भइरहेको उनले आरोप लगाए।
नेकपा एमाले र बुद्धिजीवीहरूले सदनदेखि सदनसम्म यो विषयमा विरोध गरे पनि गठबन्धनले न्यायालयमा सेटिङ गर्ने, कार्यपालिका मातहतमा न्यायपालिकालाई राख्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई धज्जी उडाउने कार्य गर्दै आएको उनले बताए।
न्यायापालिकालाई कार्यपालिकाले चलाउने गलत नजिर बसालिएकोप्रति उनले आपत्ति जनाए। यसो हुनु अत्यन्त डरलाग्दो प्रवृत्ति भएको उनको भनाइ थियो।
महाभियोगलाई सभामुखले स्वतन्त्र ढंगले छिनोफानो गर्न नसकेको भन्दै उनले त्यसप्रति विरोध जनाए। सत्ता गठबन्धनको आदेशनिर्देशन पालना गरेको र सभामुख कार्यपालिकाको समेत प्रवक्ता बनेको आरोप लगाए।
महाभियोग तुरुन्त टुंग्याएर न्यायालयप्रति जनताले उठाएका प्रश्नको हल खोज्नुपर्ने उनको भनाइ थियो। न्यायालयभित्र बिचौलियाहरुको चलखेल, अनियमितता, भ्रष्टाचारको कुरा आएको बताउँदै उनले न्यायपरिषदसमेत बेकम्मा भएको विषयमा सदनमा छलफल हुनुपर्नेमा पनि उनले जोड दिए।
महाभियोग तुरुन्त टुंग्याउनुपर्नेमा सत्तागठबन्धनको आडमा सत्ता टिकाउने हिसाबले त्यसमाथि छलफल अगाडि बढाइरहेकोप्रति उनले असन्तुष्टि जनाए।










![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)
