Kathmandu Press

कर्णाली नदीको कटानले राजापुर र श्रीलंका गाउँ जोखिममा

टीकापुर, साउन २२ : कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर नगरपालिका–८ स्थित श्रीलंका गाउँ जोखिममा रहेका छन्।कैलाली...
कर्णाली नदीको कटानले राजापुर र श्रीलंका गाउँ जोखिममा

टीकापुर, साउन २२ : कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर नगरपालिका–८ स्थित श्रीलंका गाउँ जोखिममा रहेका छन्।

कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो। पुलको उत्तरपट्टि करीब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ। सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ।

हरेक वर्ष बर्दियातर्फ तटबन्ध भत्कँदै गएकाले नदीको भँगालो बर्दियातर्फ छिर्ने जोखिम बढेको छ। बर्दियातर्फ नदीको भँगालो पसेमा टीकापुर–८ श्रीलंका डुबानमा पर्ने जोखिम छ। त्यहाँ करिब ५० परिवार बस्दै आएका छन्।

हजारौं बिघा खेती कटानको जोखिममा छ। श्रीलंकामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको बीओपी रहेको छ। विद्यालय, आधारभूत स्वास्थ्य एकाइ पनि जोखिममा पर्ने जनाइएको छ।

टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले शनिबार कटान क्षेत्र र श्रीलंका बस्ती अनुगमन र स्थानीयसँग छलफल भएको बताए। नदी बस्तीमा पस्नसक्ने जोखिम रहेकाले त्यहाँका नागरिकलाई उद्धारका लागि नगरपालिका तयारी अवस्थामा रहेको उनको भनाइ छ।

नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा पर्ने भएका छन्। गत वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो। पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भाँसिएको थियो।

सत्ती पुल भएर दैनिक सयौँ सवारीसाधन र हजारौँ नागरिक आवतजावत गर्छन्। नदी कटान भएर बस्ती पसेमा राजापुर–४ को सङ्घर्षनगर, मुक्त कमैया बस्ती, छेदियालगायत दर्जन गाउँमा बाढी पस्ने खतरा बढ्नेछ। जलस्तर बढ्दै गएपछि कर्णालीमा हरेक वर्ष नदी कटान र नदीले धार परिवर्तन गर्दै आएको छ।

पानीको बहाव बढी भएकाले ठूलो बाढी आउनासाथ पुल बगाउने जोखिम बढेको छ। जेनतेन टालटुल पारेर संरक्षण हुँदै आएको पाँच सय ३१ मिटर लामो पुल ६ वर्षअघि ४६ करोड लागतमा रसुवा कन्स्ट्रक्सनले निर्माण गरेको हो। (रासस)

प्रकाशित मिति: ०७:३१ बजे, आइतबार, साउन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्