सरकार र नेकपाबीचको ३ बुँदे सहमति कार्यान्वयनकाे माग गर्दै प्रदर्शन

काठमाडाैं, साउन २१ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको ३ बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्नुपर्ने भन्दै साेही पार्टीलगायत साना कम्युनिस्ट पार्टीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले यसअघि नेकपा संग भएको सहमति कार्यान्वयन गर्नुपर्ने र नेकपाका नेताहरुमाथिको पक्राउ आदेश खारेज गर्नुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्।
त्यस्तै उनीहरुले एमसिसी खारेज गर्नुपर्ने, मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले संसदीय व्यवस्था खारेज गर्नुपर्ने जनाएका छन्।
केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ फागुनमा नेकपालाई शान्तिपूर्ण राजनीतिमा लयाउन तीनबुँदे सहमति भएको थियो।
जसमा सरकार र नेकपा देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्ने र सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाइ गर्ने र सम्पूर्ण मुद्दाहरु खारेज सहमति भएको थियो।











