Kathmandu Press

जसपालाई रूपान्तरण गर्ने प्रयास असफल भएपछि नयाँ पार्टी खोल्नुपर्‍याे : डा. भट्टराई

काठमाडौं, साउन २१ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक आज (शनिबार) काठमाडौंमा बसिरहेको छ। जनता समाजवादी पार्टी (जसपा) छाडेर नयाँ...
जसपालाई रूपान्तरण गर्ने प्रयास असफल भएपछि नयाँ पार्टी खोल्नुपर्‍याे : डा. भट्टराई

काठमाडौं, साउन २१ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक आज (शनिबार) काठमाडौंमा बसिरहेको छ। जनता समाजवादी पार्टी (जसपा) छाडेर नयाँ पार्टी गठनपछि अध्यक्ष भट्टराईले आजका पहिलो बैठक डाकेका थिए। 

ललितपुरको बालकुमारीमा जारी बैठकलाई सम्बोधन गर्दै भट्टराईले जसपा रूपान्तरण गर्ने आफूहरुको अन्तिम प्रयास पनि असफल भएपछि नयाँ पार्टी खोल्नुपरेको बताए।

‘जसपा पुरानै र क्षेत्रीय पार्टी बन्नतिर उन्मुख भइरह्यो। त्यहाँ परिस्थिति यस्तो सिर्जना भयो, जो नेतृत्वमा रहेका मानिसहरु थिए उनीहरु जातिगत, क्षेत्रगत संकीर्णताभन्दा माथि उठेर जान चाहेनन्,’ उनले भने, ‘अब जसपा क्षत्रीय पार्टीमा, संकीर्ण दलमा रुपान्तरण र पतन भएको छ। उसले वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्दैन।’

जनजाति आन्दोलनहरुसंग मिलेर नया प्रकारको राजनीतिक अभ्यास सुरु गर्न खोजेर समाजवादी र जसपा बनाएर अघि बढे पनि त्यसले मात्रै खोजेजस्तो परिणाम दिन नसकेको उनले बताए।

नेपालको राजनीतिमा आफूहरुले दुईतीनवटा प्रयोग गरेको तर परिणाम दिन नसकेको बताउँदै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने बताए।

‘नेपाली समाजको जटिलता, जटिल भूराजनीति परिस्थिति, बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ। यही अनुभूति गरेर नेपाल समाजवादी पार्टी गठन गरेका छौं।’ भट्टराईले आफूहरुले फेरि पनि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताए।

‘हामीले नयाँ इतिहास सुरु गर्ने हिम्मत गरेका छौं। नयाँ काम अप्ठेरो हुन्छ तर त्यससँग जुधेर मात्र ऐतिहासिक र रुपान्तरणकारी काम गर्न सकिन्छ,’  उनले भने,  ‘सजिलो बाटो त जो पनि हिँड्छ। समस्याहरुको समाधानका लागि असजिलो बाटो हिँड्ने साहस गर्नुपर्छ। त्यो धेरै कठिन देखिन सक्छ।’

उनले सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष गरेर रुपान्तरणको अभियान अघि बढाउने धारणा राख्नुभयो । भट्टराईले निर्वाचन घोषणा भइसकेको अवस्थामा एक्लै वा बिचार मिल्ने शक्तिहरुसंग सहकार्य गर्ने भन्ने निर्णय बैठकले गर्ने जानकारी दिनुभयो । निर्वाचनका निम्ति सम्भव भएसम्मका नजिकका, विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गठबन्धनका लागि प्रयास गर्नुपर्ने उहाको भनाई छ ।

डा. भट्टराईले आउने चुनावमा भाग लिने सन्दर्भमा बैठकमा छलफल हुने र गठबन्धन गर्ने बारेमा पनि पार्टीले निर्णय लिने बताए। उनले नयाँ पार्टीलाई देशव्यापी बनाउदै जनताले चाहेको रुपान्तरणसहितको परिवर्तनलाई स्थापीत गरेरै छाड्ने दाबी गरे। 

पार्टीको पहिलो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष दीपक लामिछानेले बाबुराम भट्टराई, महिन्द्र राय यादवसहितको केन्द्रीय समिति घोषणा गरेका थिए । लामिछानेको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको सो दल बाबुराम भट्टराईले लिएका हुन्।

प्रकाशित मिति: १४:५० बजे, शनिबार, साउन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्