विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ : प्रचण्ड
शनिबार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
काठमाडौं, साउन २१ : जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन्।
शनिबार जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं,’ उनले भने। एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने विश्वास उनले दिलाए।
उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गरेको बताए। ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं,’ उनले भने।
उनले आफ्नो ध्यान नेपालकाे विकास र सुशासनमा केन्द्रित रहेकाे उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरुको ज्ञान, सीप र अनुभवलाई ठीक ढंले सम्बोधन गर्नेतर्फ पनि रहेकाे बताए।
स्थानीय तहको निर्वाचन सफल रूपमा सफल भएको जानकारी दिँदै उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नेपालमा स्थिर र बलियो सरकार बन्ने बताए। ‘प्रदेश र संघको निर्वाचनपछि स्थिर र बलियो सरकार बन्नेछ। जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राख्नेछ,’ उनले भने।
पूर्वप्रधानमन्त्रीको हकमा नेपाल फेस्टिबलको उद्घाटन गर्ने पहिलो व्यक्ति आफू भएकोमा उनले खुसी व्यक्त गरे। जापानमा रहेर पनि नेपालको जातीय, सांस्कृतिक, भाषिक विविधतालाई उजागर गर्ने र नेपालको उत्पादनलाई प्रवर्धन गर्ने काम गरेकोमा उनले आयोजकलाई धन्यवाद दिए।
नेपाल र जापानबीच पुरानो र घनिष्ठ सम्बन्ध रहेको र १२० वर्षदेखि थुप्रै विद्यार्थी जापानमा आएर पढ्ने गरेको बताउँदै उनले जापान नेपालको अग्रणी दाता राष्ट्र भएको बताए। उनले सगरमाथा आरोहण गर्ने पहिलो महिला जुन्को ताबेई जापानी नै भएकाले पनि नेपाल–जापानबीच सम्बन्ध सुमधुर रहेको उनको भनाइ थियो।
नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन जापानमा बस्ने नेपालीको भूमिका पनि महत्वपूर्ण रहेको बताए। नेपालको आर्थिक विकासलाई गति दिन जापानमा बस्ने नेपालीले सिकेका सीप, ज्ञान र अनुभवको ठुलो योगदान हुन सक्ने उनले बताए।
सोही क्रममा उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेलाई स्मरण गर्दै उनीसँग विगतमा निरन्तर सम्पर्कमा रहने गरेको बताए।
‘उहाँसँग मेरो गहिरो मित्रता थियो। जापानमा आएका बेला उहाँसँग प्रत्यक्ष भेटेर कुराकानी गर्ने इच्छा मैले राखेको थिएँ, जापानी दूतावासमार्फत मैले यो सन्देश उहाँसम्म पुर्याएको पनि थिएँ,’ उनले भने, ‘तर दुर्भाग्य उहाँको यसबीचमा अवसान भयो। जापानमा हुनै नहुने घटनाका रुपमा अहिले नेपालमा सबैको ध्यान मुलुकलाई कसरी राजनीतिक स्थायित्व र विकास समृद्धितिर कसरी लैजाने भन्ने रहेको उनले बताए।
देशमा गणतन्त्र आएपछि पहिलो प्रधानमन्त्री बनेपछि आफूले देशको विकासका निम्ति भौततिक पूर्वाधारलाई जोड दिएको उनले बताए। ‘सडक सञ्जाल, विद्युतीकरण, पर्यटन विकास र कृषि उत्पादनमा पहिलोपटक जोड दिएको थिएँ,’ उनले भने, ‘दोस्रोपटक प्रधानमन्त्री हुँदा ऊर्जामा विशेष जोड दिएँ।’ आफूले नेपालीले भोग्दै आएको लोडसेडिङ हटाको र नेपाल अहिले विद्युत् बेच्ने अवस्थामा पुगेको उनले बताए।











