प्रचण्डले भने– मेरो भ्रमण नेपाल–जापान सम्बन्ध सुदृढ बनाउन केन्द्रित रहन्छ
काठमाडाैं, साउन २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्। पाँच दिने भ्रमणका...
काठमाडाैं, साउन २१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्। पाँच दिने भ्रमणका लागि शनिबार बिहान जापान पुगेका प्रचण्डले नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग छलफल गर्ने बताए।
‘उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ।’
जापान नेपालको विकासमा दातृ राष्ट्रका रुपमा रहेको औंल्याउँदै उनले नेपालको विकासमा आफूले बारम्बार जापान सरकारका प्रतिनिधिसँग कुराकानी गर्दै आएको स्मरण गरे।
जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्ने पनि उनले बताए । उनले भने, ‘विभिन्न व्यवसायमा रहेका, विद्यार्थीलाई नेपालका तर्फबाट त्यहाँको सरकार र राजनीतिक दलका तर्फबाट के गर्न उचित हुन्छ भन्नेबारेमा म गहिरोसँग अध्ययन गर्छु।’
प्रचण्डले आज जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभल समारोहको समुद्घाटन गर्ने कार्यक्रम छ । उनले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने छन् । यस्तै, उनले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउने छन्।











