बेगेकाे साथबाट धादिङ प्रहरीले बरामद गरेको सुन र डलर दुबै नक्कली
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बेगेको साथबाट बरामद गरिएको सुन परीक्षणको क्रममा नक्कली पुष्टि भएको जानकारी दिएका छन्।
काठमाडौं, साउन २० : उत्तरी धादिङको खनियावास गाउँपालिका–४ का ‘बेगे’ भनिने बेगबहादुर तामाङको साथबाट धादिङ प्रहरीले बरामद गरेको सुन र अमेरिकी डलर दुबै नक्कली भएकोृ खुलेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीका अनुसार बेगेको साथबाट बरामद गरिएको सुन परीक्षणको क्रममा नक्कली पुष्टि भएको हो ।
गत मंगलबार धादिङ प्रहरीले बेगेलाई नीलकण्ठ नगरपालिका–३ थोपल खोला सडकबाट तामाङले पक्राउ गरेको थियो । लापाङफेदीबाट धादिङ आउँदै गरेको ग १ ज ६७५३ नम्बरको मुस्ताङ गाडीमा चेकजाँच गर्दा प्रहरीले बेगबहादुर र उनीसँगै आएकी शोभा तामाङको साथबाट एक थान बिस्कुट आकारको सुन र अमेरिकी डलर ( ५० दरका ९७ थान र १०० दरका १६३ थान) बरामद गरेको थियो।
प्रहरीले तामाङ थप शंकास्पद रहेको आकलन गर्दै खनियावासस्थित उनको घरमा छापा मारेको थियो । खानतलासी गर्दा लुकाई छिपाई राखिएको १ थान मेड इन युएसए र १ थान मेड इन चाइना लेखिएको सेमि अटोमेटिक पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने २० राउन्ड गोली, एक थान कटुवा पेस्तोल, १ किलो फाइन गोल्ड लेखिएको विस्कुट आकारको पहेँलो धातु र गोल्ड ५००जि लेखिएको बिस्कुट आकारको पहेँलो धातु बरामद गरेको थियो।
तर, परीक्षणको क्रममा सबै पहेँलो धातु नक्कली सुन रहेको पुष्टि भएको हो । त्यस्तै बरामद भएको अमेरिकी डलर पनि सामान्य भन्दा पातलो र सिरियल नम्बर नभएकाले नक्कली नै रहेको धादिङ प्रहरीले जानकारी दिएको छ । प्रहरीसँगको वयानमा बेगेले आफ्ना दाई माओवादी पूर्वलडाकु भएको र त्यहीबेला घरमा पेस्तोल ल्याएर राखेको बताएका छन्।
उनले सोही पेस्तोल देखाएर केही वर्षअघि धादिङवेशीबाटै उक्त पहेँलो धातु लुटेको वयान दिएका छन् । उनीमाथि थप अनुसन्धान र सोधपुछ जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
'अनुसन्धानकै क्रममा छौं, अनुसन्धान पुरा भएर अदालतमा मुद्दा दर्ता गर्ने समयसम्म पक्राउ परेका व्यक्तिमाथि कुन कुन मुद्दा आकर्षित हुन्छ भन्ने खुल्छ,’ डीएसपी भण्डारीले भने।











