माधव नेपाल गन्तव्यहीन नेता, प्रचण्डकाे गन्तव्य सुपुत्री : ओली
काठमाडौं, साउन २१ : एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका प्रमुख नेताहरूको कटाक्ष गरेका छन्।एमालेको उपत्यका विशेष प्रदेश कमिटीले आज (शुक्रबार) राजधानीमा आयोजना...
काठमाडौं, साउन २१ : एमाले अध्यक्ष केपी ओलीले अहिलेको पाँचदलीय गठबन्धनका प्रमुख नेताहरूको कटाक्ष गरेका छन्।
एमालेको उपत्यका विशेष प्रदेश कमिटीले आज (शुक्रबार) राजधानीमा आयोजना गरेको रणनीतिक कार्यशाला गोष्ठीमा बोल्दै उनले गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको, सबैको व्यक्तिगत स्वार्थ मात्र लिप्त रहेको बताएका हुन्।
‘अहिलेका नेताको कुनै गन्तव्य छैन। मोहनविक्रम सिंहको गन्तव्य प्युठान। शेरबहादुरको गन्तव्य म्याडम साहेब। प्रचण्डको गन्तव्य सुपुत्री,’ उनले भने। उनले एमालेबाट अलग भएर अर्काे पार्टी खाेलेका माधवकुमार नेपाल गन्तव्यहीन नेता भएकाे टिप्पणी गरे। ‘माधव नेपालको त के कुरा गर्ने। उनको जिन्दगी छटपटीमै बित्छ। गन्तव्य नै केही छैन,’ उनले भने।
उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त पार्ने आरोप पनि लगाए। उनले वर्तमान सरकारले राज्य संयन्त्रको इतिहासमै सबैभन्दा बढी दुरुपयोग गरेको आरोप पनि लगाए।
‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिल्यै भएको थिएन,’ उनले भने, ‘महान्यायाधिवक्ताले मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन। कति सारो खेलबाड?’ उनले अहिलेको सरकार कानुन नभएको शासन जस्तो भएको बताए।











